मन्दिर पुनर्निर्माणमा अझै समस्या

0
Shares

ईश्वरराज ढकाल, काठमाडौं

रानीपोखरीको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिर भत्काउनुपर्ने भएको छ। तर काठमाडौं महानगरपालिका र पुरातŒव विभागबीच द्वन्द्व कायम रहँदा करिब चार महिनादेखि मन्दिर पुनर्निर्माणमा समस्या उत्पन्न भइरहेको छ।

उक्त विवादका कारण मन्दिर र रानीपोखरी पुनर्निर्माणको ठेकेदारको ठेक्का तोड्ने अवस्था आइसकेको छ।
विभागले रानीपोखरीको ड्रइङ डिजाइनसहितको नयाँ नक्सा महानगरपालिकालाई बुझाइसकेको छ। विभागले गत ५ गते महानगरलाई विस्तृत विवरणसहितको नक्सा कामपालाई हस्तान्तरण गरिसकेको छ।

इन्जिनियरद्वय लक्ष्मणराज वासुकला र पू्र्णबहादुर श्रेष्ठले तयार गरेको सो नक्सा कामपालाई हस्तान्तरण गरिसकेको विभागका महानिर्देशक भेषनारायण दाहालले जानकारी दिनुभयो।

काठमाडौं महानगरपालिकाका मेयर विद्याशुन्दर शाक्यले नक्सा प्राप्त भइसकेको र विस्तृत छलफल गरेर निर्माण शुरू गर्ने जानकारी दिनुभयो। उहाँले रानीपोखरीको मात्रै नभई मन्दिरको पनि नक्सा तयार हुनुपर्ने बताउनुभयो। यद्यपि विभागले परम्परागत सामग्री प्रयोग गरेर मात्रै रानीपोखरीको पुनर्निर्माण गर्नुपर्ने सुझाएको छ।
यसबारे थप जानकारी लिँदा मेयर शाक्यले मल्लकालीन शैलीमा नै बनाउनुपर्ने सो मन्दिर राणकालीन शैलीमा बनाइएकाले भत्काउनुपर्ने दाबी गर्नुभयो। विज्ञ समूहले दिएको प्रतिवेदनको आधारमा मन्दिर निर्माण हुनुपर्ने उहाँको जिकिर थियो।

उहाँले भन्नुभयो– ‘रानीपोखरीको वरिपरि बनाइएको कंक्रिटको पर्खाल र अन्य संरचनासमेत हटाउने तयारी भइरहेको अवस्थामा पुरातत्व विभागले पेलेर कंक्रिटको पिलरमाथि मन्दिर बनाइरहेको छ।’

उता सर्वोच्च अदालतले दिएको आदेशका आधारमा सो मन्दिर बनाइएको दाबी गर्दै विभागका महानिर्देशक भेषनारायण दाहालले भन्नुभयो– ‘सर्वोच्चले राणाकालीन शैलीमै मन्दिर बनाई मासिकरूपमा प्रगति प्रतिवेदन बुझाउनुपर्ने आदेश दिएपछि सो कार्य निर्माण गरिएको हो।’ मेयर शाक्यले प्रतिप्रश्न गर्नुभयो– ‘पुरातत्वले जे गरे पनि हुने? हामीले केही गर्न नहुने? पुरातत्वले सो मन्दिर मल्लकालीन शैलीमा नबनाएसम्म समस्या समाधान हुँदैन।’

उहाँले केही दिनअघि पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी, पुरातत्व विभाग, कामपा र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अधिकारीबीच भएको बैठकमा पनि जनचाहना र विज्ञ समूहको सुझावको आधारमा रानीपोखरीको सम्पूर्ण संरचना मल्लकालीन शैलीमै बनाउने अडान राखेको बताउनुभयो। सो बैठकमा मन्त्री अधिकारीले तत्काल मन्दिर बनाउन सबै पक्षलाई आग्रह गर्नुभएको थियो।मेयर शाक्यले मल्लकालीन शैलीमै मन्दिर बनाउन आवश्यक पर्ने सम्पूर्ण रकम कामपाले नै बेहोर्न सक्ने दाबी गर्नुभयो। महानिर्देशक दाहालले विवाद गर्नुभन्दा समस्या समाधानको बाटो अपनाउनुपर्ने बताउनुभयो।