इलोक्ट्रोनिक लेखा प्रणाली सम्बन्धी तालिम

0
Shares

धनवीर दाहाल, रुकुम ।
स्थानिय तहको लेखा प्रणालीलाई इलोक्ट्रोनिक बिधिबाट संचालनको लागी रुकुममा पहिलो पटक स्थानीय तहका कार्यकारी अधिकृत र लेखापाललाई इलेक्ट्रोनिक लेखा प्रणाली सम्बन्धी तालिम संचालन गरिएको छ । रुकुम पुर्व र रुकुम पश्चिमका स्थानीय तहका कार्यकारी अधिकृत र लेखापाललाई संयुक्त रुपमा रुकुम पश्चिमको सदरमुकाम मुसिकोटमा सो तालिमको व्यवस्था गरिएको हो ।

बिभिन्न योजना, प्रतिबेदन तथा बिल, चेक भुक्तानी लगाएतका लेखासँग सम्बन्धीत सबै काम इलेक्ट्रोनिक बिधिबाट संचालन हुने कोष तथा लेखा नियन्त्रण कार्यालय रुकुम पश्चिमका कोष नियन्त्रक इश्वरी प्रसाद ढकालले बताउनुभयो ।

जिल्लामा रहेका अन्य कार्यालयमा सो बिधिबाट लेखा राख्ने व्यवस्था भएपनि स्थानीय तहमा नभएपछि कामकाजमा समस्या भएको थियो । जिल्लामा पहिलो पटक यस्तो व्यवस्थाबाट स्थानीय तहको लेखा प्रणाली संचालन हुने भएको हो ।

रुकुम पुर्वमा ३ गाँउपालिका र रुकुम पश्चिममा ३ नगरपालिका तथा ३ गाँउपालिका गरी जम्मा ९ स्थानीय तहका लेखापाल र कार्यकारी अधिकृत गरी १८ जनालाई इलोक्ट्रोनिक लेखा प्रणाली सम्बन्धी तालिम दिइएको हो ।