निर्माताले नै २५ लाख पारिश्रमिक दिएको प्रदीपको दाबी

0
Shares

नायक प्रदीप खड्काले निर्माताहरूकै प्रस्तावअनुसार २५ लाख रुपियाँ पारिश्रमिक लिएको दाबी गरेका छन्। उनले आगामी शुक्रबार अल नेपाल रिलिज हुन लागेको फिल्म लिलीबिलीमा पनि निर्माताहरूले अफर गरेकैले २५ लाख रुपियाँ पारिश्रमिक लिएको र अहिलेको अवस्थामा प्रतिफिल्मबापत् ३०⁄३५ लाख रुपियाँ अफर आइरहेको दाबी गरे।

राजधानीमा आयोजित अनौपचारिक साक्षात्कार कार्यक्रममा पत्रकारहरूसँग कुरा गर्दै उनले भने– ‘मैले यस अगाडि गरेका फिल्महरूको काम देखेर नै लिलीबिलीका निर्माताले २५ लाख रुपियाँ दिनुभएको हो। अहिले त ३०⁄३५ लाख रुपियाँको अफर आइरहेको छ। लिलीबिलीको रिजल्ट आएपछि निर्माताहरूले योभन्दा बढी पारिश्रमिक अफर गर्नुहुन्छ भन्ने विश्वास लिएको छु।’ उनले बजारमा हल्ला गरिएजस्तो कहिल्यै पनि आप्mनो फिल्मका लागि हिरोइन रिफर वा डिमान्ड गर्ने नगरेकोसमेत बताए। ‘निर्माताहरूले आप्mनो फिल्ममा मेरा लागि जुन हिरोइन दिनुभयो, मैले उसैसँग काम गरेँ। लिलीबिलीमा पनि निर्माताकै चाहनाअनुसार मैले नवनायिका जसिता गुरुङ र प्रियंका कार्कीसँग काम गरेँ’, प्रदीपले भने– ‘प्रियंकासँग काम गर्दा धेरै कुरा सिक्ने अवसर पाएँ र जसितालाई जानेको कुरा सिकाएँ।’

मिलन चाम्सद्वारा निर्मित लिली बिलीबारे कुरा गर्दै प्रदीपले भने– ‘प्रेमगीत र प्रेमगीत २ दुवै हिट भएपछि मलाई दर्शकले प्रेमगीतको हिरो भनेर चिन्छन्। यो हप्ता लिली बिली आएपछि यसैको हिरोका रूपमा चिन्ने विश्वास गरेको छु।’ उनले बेलायत, स्कटल्यान्ड र टर्कीमा छायांकन गरिएको फिल्ममा त्यहाँको सुन्दरताजत्तिकै आप्mनो अभिनय पनि सुन्दर हुने दाबीसमेत गरे। ‘त्यहाँको सिनजत्तिकै हामीले पनि सुन्दर काम गरेका छौँ। त्यहाँ सुटिङ युनिट सानो भएकाले लाइट बोक्ने साथीहरूदेखि खाना पकाउने भान्साका साथीहरूसमेतलाई काममा सघाएर काम गरेको छु’ –उनले भने।

नायिका जसिता गुरुङले आफू अभिनयको विद्यार्थी नभए पनि निर्देशक चाम्स र नायक खड्काले आफूलाई प्रेरित गरेको बताइन्। ‘मैले यसमा धेरै नै मेहनत गरेकी छु। लिली बिलीपछि अरू फिल्मबाट पनि अफर आएका छन् तर अब ट्रेनिङ लिएर मात्र एक्टिङ गर्छुु –उनले भनिन्। फिल्ममा निर्माता गोविन्द शाही र सुदीप खड्काले विदेशको महँगो सेटमा समेत सुटिङ गरेर राम्रो फिल्म बनाउने कोशिस गरेको बताए। काया फिल्म्स र सुदीप खड्का प्रोडक्सनको व्यानरमा निर्मित फिल्ममा प्रदीप, प्रियंका र जसिताका साथमा अनुपविक्रम शाही, सविन श्रेष्ठ, मनिष श्रेष्ठ, ध्रुव दत्त, रितेश चाम्सलगायतले अभिनय गरेका छन्। फिल्ममा प्रदीप भारद्वाजको लेखन, राजेशकुमार श्रेष्ठ र बविम विक्रम अधिकारीको गीत, एलिस कार्की र एसडी योगीको संगीत, कविराज गहतराजको नृत्य, चन्द्र पन्तको द्वन्द्व, सुदिप बरालको छायांकन र अर्जुन जिसीको सम्पादन रहेको छ।