प्रशान्त वली, काठमाडौं
हुलाक बैंकमा अपेक्षाकृत रकम संकलन हुन सकेको छैन । सेवाग्राहीलाई ऋण प्रवाह नगरिँदा अहिलेसम्म ४ अर्ब रुपियाँ संकलन भएको हुलाक सेवा विभागले बताएको छ । सो बैंकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय मातहतका कर्मचारीले मात्रै ऋण लैजान पाउने कार्यविधि बनेको छ । यद्यपि दुर्गम क्षेत्रमा सेवाग्राहीले बैंकमा रकम जम्मा गरिरहेको विभागका महानिर्देशक राजन पौडेलले बताउनुभयो ।
विभागका अनुसार हुलाकमा २० हजार कर्मचारी कार्यरत छन् । महानिर्देशक पौडेलले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘हुलाक बैंकप्रति सेवाग्राहीको आकर्षण बढाउन रेमिट्यान्सको प्रवाह वृद्धि गर्न आवश्यक देखिन्छ । यस्तै, वचतकर्तालाई सहज र सरलीकृत रुपमा सेवा प्रवाह गर्न सके मात्रै पनि हुलाक बैंकमा रकम जम्मा हुने देखिन्छ ।’ ग्रामीण तहमा बैंकको संख्या कम र हुलाक बैंकप्रति सेवाग्राहीको विश्वसनीयता बढेकाले पनि हुलाक बैंकमा बचत गर्नेहरुको संख्या बढेको बिभागले बताएको छ ।
अन्य सेवाग्राहीले रकम जम्मा गर्न पाएपनि सो रकमको व्याज मात्रै पाउने तर, बैङकले सेवाग्राहीमा ऋण लगानी नगर्ने गरेको देखिएको छ । सरकारको हुलाक सेवाअन्तरगत देशका ७३ जिल्लामा सञ्चालन गरेको हुलाक बचत वैंक नीति अभावले प्रभावकारी बन्न सकेको छैन । नीति नबनेपछि लगानी गर्न नसक्दा हुलाक बचत बैंकमा संकलित रकम कर्मचारीमै सीमित बन्न पुगेको छ ।
बचत वैंकमा संकलित रकम हुलाकमा कार्यरत स्थायी कर्मचारीका लागि मात्र लगानी गर्ने प्रावधान रहेकाले वचत बैंक प्रभावकारी बन्न नसकेको बताइएको छ । विभागले पोस्ट बक्स अनलाइन सर्भिस, पोस्टल फाइनान्सियल सर्भिस, मोनेटरी ट्रान्सफर्मर, पोस्टल सेभिङ बैंक सर्भिसजस्ता सेवा पनि उपलब्ध गराउँदै आएको छ । बैंकिङ सेवामा दुर्गम क्षेत्रसहित देशभरिबाट बैंकमा बचत गर्ने मानिसको संख्या अत्यधिक बढ्दै गएको उहाँको भनाइ थियो ।
यस्तै, सूचना प्रविधिको तीब्र बिकासका कारण पछिल्लो समयमा हुलाकप्रति सेवाग्राहीको आकर्षण कम हुन थालेको छ । जसकारण बिभागका लागि विनीयोजीत ३ अर्व रुपैंया बिभागका कर्मचारीको तलव, पार्सल, भौतिक पूर्वाधार निर्माणमा मात्रै खर्च हुने गरेको महानिर्देशक पौडेलले बताउनुभयो । हुलाक सेवा बिभागको स्थापना विसं १९३५ सालमा भएको हो ।
प्रतिक्रिया