रोजिनलाई मलेसियामा अन्तर्राष्ट्रिय अवार्ड

0
Shares

कोरियोग्राफर तथा सञ्चारकर्मी रोजिन शाक्य हालै मलेसियामा सम्पन्न समारोहबीच अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित भएका छन्। क्वालालम्पुर अवस्थित द प्यालेस अफ गोल्डेन हर्सेस् होटलमा सञ्चालित द इन्टरनेसनल प्रिस्टिज् ब्रान्ड अवार्ड समारोहमा बेस्ट आन्टरप्रिनर विधाअन्तर्गत बेस्ट आन्टरप्रिनर इन मल्टि टास्क पर्सनालिटी अवार्डबाट सम्मानित भएका हुन्।

यस विधामा अन्तर्राष्ट्रिय पुरष्कारबाट पुरस्कृत हुने रोजिन पहिलो नेपाली हुन्। उनलाई यस पुरस्कारका नेपालस्थित ई–प्लानेट प्रालिले मनोनित गरेको हो। सम्बन्धित विधामा रोजिन हासिल गरेको उपलब्धि, पुर्याएको महत्त्वपूर्ण योगदान र निरन्तरताको उच्च मूल्यांकन गर्दै उल्लेखित अवार्डबाट उनलाई सम्मानित गरेको हो। एसिया एक्सिलेन्स आन्टरप्रिनर फेडरेसनले वार्षिकरूपमा आयोजना गर्दै आएको यो अवार्ड समारोहले आफ्नो क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि हासिल गरेका विश्व चर्चित व्यक्तित्वहरूको योगदान र उपलब्धिको कदर गर्दै यो अवार्ड प्रदान गर्ने गरेको छ।

डेढ दशकभन्दा लामो समयको निरन्तरतामा आफूलाई परिष्कृत, परिमार्जित र परिपक्व बनाउँदै आएका नेपाली फेसन मोडलिङ र सौन्दर्य प्रतियोगितामा आफूलाई स्थापित गर्न सफल फेसन कोरियोग्राफर एवं सञ्चारकर्मी शाक्यले अन्तर्राष्ट्रिय क्षेत्रमा पनि आफूलाई अघि बढाउँदै आएका छन्। नृत्य, अभिनय, उद्घोषण, टेलिभिजन कार्यक्रम निर्माण विधाको अनुभव पनि सँगालेका रोजिनले विभिन्न अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा सहभागी भएका नेपाली प्रतिनिधि पात्रहरूको पनि ग्रुमिङ र सफल उपलब्धि पनि हासिल गरेका छन्।