विपीन र नम्रतासँगै प्रसाद

0
Shares

आई एम सरी, क्लासिक र पर्वका निर्देशक दिनेश राउतले पूरै कलाकार चयन नगरी नयाँ फिल्म निर्माणको घोषणा गरेका छन्। राउतले सोमबार राजधानीको लाजिम्पाटस्थित होटल सांग्रिलामा आयोजित एक समारोहबीच पत्रकार सुशील पौडेलको लेखनमा प्रसाद नामक फिल्म निर्देशन गर्ने घोषणा गरेका हुन्।

राउत र निर्माता सुवास थापाले फिल्मको नामांकन पोस्टर सार्वजनिक गर्दै प्रसाद निर्माणको घोषणा गरेका हुन्। निर्देशक राउतका अनुसार निःसन्तानका कारण श्रीमान्–श्रीमतीबीचमा आउने असमझदारी, अविश्वास तथा मानसकिक द्वन्द्व र सामाजिक मूल्य मान्यताविरुद्ध मूल पात्रले गर्ने विषयलाई लिएर फिल्म बनाउन लागिएको हो। फिल्ममा विपीन कार्की, नम्रता श्रेष्ठ र नवीन मानन्धर मात्र चयन भएका छन्। अन्य कलाकार भने चयन हुन बाँकी छ।

कार्यक्रममा बोल्दै निर्देशक राउतले आफूले अघिल्ला फिल्महरू लभ जनरामा बनाएर बीचमा थ्रिलर फिल्ममा पनि हात हालेको उल्लेख गर्दै आफ्ना फिल्मका पात्रहरूमा मानसिक द्वन्द्व बढी हुन बताए। ‘यो फिल्म निःशन्तान दम्पतीको जीवनमा आउने विभिन्न समस्या र सामाजिक मूल्य मान्यताविरुद्ध मुख्य पात्रको संघर्षको फ्यामिली ड्रामा हो। यो फिल्मले मानिसलाई रुवाउँदैन होला, हसाउँदैन होला तर केही सोच्न बँध्य बनाउँछु।’ –उनले भने।

सञ्चारकर्मी विष्णु सुवेदीद्वारा सञ्चालित कार्यक्रममा अभिनेता विपीन कार्कीले धेरै पहिले पत्रकारधार सुशील पौडेलले कथा सुनाएको र आफू प्रभावित भएर काम गर्न लागेको बताए। ‘पहिलोपटक यो टिमसँग आबद्ध भएर काम गर्न लागेको छु। यो फिल्मको कथा पहिले नै सुशीलजीबाट सुनेको थिएँ। त्यो बेला म कथा लेख्दै छु भनेर सुनाउनुभएको थियो। कथाबाट प्रभावित भएर काम गर्न लागेको छु, फिल्म कस्तो बन्छ त्यो भोलिको दिनमा थाहा होला।’ –कार्कीले भने। अभिनेतृ श्रेष्ठले एक वर्षदेखि यो फिल्मको कथालाई लिएर काम गरेको र अहिले मात्र फिल्ममा काम गर्ने कुरा फाइनल भएको बताइन्। ‘यो पालि विपीनजीसँग कपल भएर काम गर्दै छु।’ –उनले भनिन्।

फिल्मका लेखक पत्रकार सुशील पौडेलले आफू ९ कक्षामा पढ्दादेखि दिमागमा घुमेको विषयलाई लिएर लेखेको कथामा बन्न लागेको फिल्म आफ्नै लागि पनि प्रतीक्षाको विषय बनेको बताए। ‘विपीन, नम्रता जस्ता आर्टिस्टले स्क्रिप्ट स्वीकार्नु मेरो लागि शुरूआती अचिभमेन्ट हो। फिल्म कस्तो बन्छ त्यो डाइरेक्टरको हातमा छ। यसका पात्र कुन अवस्थामा आउँछन् र त्यसको निचोड के हो भन्ने विषयले दर्शकलाई कन्भिन्स गराउँछ होला।’ –उनले भने।

फिल्ममा संगीत कोशिस क्षत्री र सुवास भुसाल, स्वर अञ्जु पन्त, केतन क्षत्री र रूपक डोटेलको, गीत गणेश शाही र जोसेफ शाही ठकुरीको रहनेछ भने छायांकन राजेश श्रेष्ठको रहनेछ। वैशाख अन्तिममा फ्लोरमा जाने फिल्मको ७० प्रतिशत छायांकन काठमाडौं र बाँकी ग्रामीण भेगमा हुनेछ।