गुल्मी । नेपाली कांग्रेसका नेता तथा पुर्व उपप्रधान मन्त्री प्रकाशमान सिंहले जनताले विकास र समृद्धि चाहेको बताउनु भएको छ ।
तेस्रो गुल्मी महोत्सवको समापन समारोहलाइ सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्य समेत रहेका नेता सिंहले अहिलेका तीन तहका सरकारले जनताका चाहना अनुसारका नीति तथा कार्यक्रम लिन आवश्यक रहेको बताउनु भयो ।
‘जनताले भाषण गर्न नभइ काम गर्न यो सरकारलाइ जनमत दिएका हुन’ नेता सिंहले भने ‘यो पाँच बर्ष सदुपयोग गरी काम नगरे अर्को पाँच बर्षमा जनमत अर्को पार्टीलाइ जान सक्छ’। उहाँले सरकारले अहिलेकोे बहुमतलाइ राम्रो अवसरको रुपमा लिन आग्रह गर्नुभयो । सबैको ध्यान विकास र समृद्धि तर्फ रहेको भन्दै उहाँले आर्थिक विकासको निम्ति नीजि क्षेत्र र सहकारीलाई साथै लिएर जानुपर्ने बताउनु भयो ।
उहाँले २०४६ सालको बहुदलीय व्यवस्थापछि नेपाली काँग्रेसले लिएको खुला अर्थनीतिका कारण १० बर्षको सशस्त्र द्धन्द र राजनीतिक संक्रमणकालको अवस्थामा पनि मुलुकको अर्थतन्त्र नकारात्मक अवस्थामा नपुगेको बताउनु भयो । उहाँले उद्योग व्यापार मुलुकको आर्थिक विकाससँग सम्बन्धित भएका कारण नीजि क्षेत्र र सहकारी क्षेत्रलाइ साथमा लिनु जरुरी रहेको बताउनु भयो ।
‘अहिले आर्थिक अवस्था स्थिर छ– नेता सिंहले भन्नुभयो, ‘यो समयमा अरु कुरामा ध्यान नदिइ पूर्वाधार विकास, खानेपानी, कृषि, स्वास्थ्य क्षेत्रमा केही बढी मेहनत गरे समृद्धिको सपना साकार हुनेमा दुई मत छैन ।’ उहाँले गुल्मी जिल्ला विभिन्न सम्भावनाहरुले भरिपुर्ण भएको भन्दै सम्भावनाहरुलाई उपलब्धिमा परिणत गर्न सझाव दिनुभयो ।
‘गुल्मीमा धेरै सम्भावनाहरु छन्’ नेता सिंहले थप्नुभयो, ‘सम्भावनालाई सम्भावनामा मात्र सीमित नगरी काम गरेर देखाउन सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्न सक्नुपर्दछ ।’ नेता सिंहले स्थानीय स्तरका लोप हुन लागेका वस्तुहरुको प्रबद्र्धन गर्नमा यस्ता महोत्सवहरु निकै महत्वपुर्ण भएको बताउनु भयो ।











प्रतिक्रिया