कामना अवार्डका विजेता र सहयोगीलाई बधाई र आभार

0
Shares

गत माघ १६ गते राजधानीमा भव्यताका साथ सम्पन्न लक्स कामना फिल्म अवार्डस् २०७४ का विजेता तथा अवार्ड समारोहलाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने र साथ दिने कलाकर्मी र फिल्मकर्मीलाई बधाई र आभार प्रकट गर्न शनिबार एक अनौपचारिक कार्यक्रम गरियो।

नेपाल समाचारपत्रका प्रधानसम्पादक पुष्करलाल श्रेष्ठको ललितपुरको भैंसीपाटीस्थित निवास आमा घरमा आयोजित कार्यक्रममा अवार्डको विभिन्न विधाका विजेताका साथमा अवार्ड समारोहमा गीत, नृत्य र हस्यौली प्रस्तुत गर्ने कलाकर्मी तथा विभिन्नरूपले सहयोग पुर्याउने कलाकर्मी र चलचित्रकर्मी सहभागी भएका थिए। अनौपचारिक समारोहमा प्रधानसम्पादक श्रेष्ठले अवार्ड समारोहलाई सफल बनाउन सहयोग पुर्याउने सबैप्रति धन्यवाद ज्ञापन गरेका थिए।

ढिलो रातिसम्म चलेको कार्यक्रममा अवार्ड समारोहको समयमा राजधानी र नेपालबाहिर रहेकाले अवार्ड ग्रहण गर्न नपाएका गायिका अञ्जु पन्त र संगीतकार तथा गायक कालिप्रसाद बास्कोटालाई अवार्ड प्रदान गरिएको थियो। तेस्रो संस्करणको अवार्ड समारोहमा अञ्जुले किस्मत–२ को यी आँखा लैजाउबाट सर्वोत्कृष्ट संगीतकार र कालिप्रसादले लुट–२ को ठमेल बजारबाट सर्वोत्कृष्ट गायिकाको अवार्ड जितेका थिए। शान्त र सभ्य वातावरणमा भएको कार्यक्रममा ख्यातिप्राप्त गायक प्रेमध्वज प्रधान पनि आउने थाहा पाएपछि बाल्य उमेरदेखि नै गीत संगीतमा रुचि राख्ने तथा प्रधानको डाई हार्ट फ्यान रहेकी यमुना बस्नेत उनलाई भेट्न आएकी थिइन्।

गायक प्रधानलाई आफ्नै अगाडि भेटेपछि यमुनाले उनलाई पटक–पटक ढोगेकी थिइन्। अर्को संयोग आफ्नो रचनाको गीत गाए पनि सो गीतकी गायिका राजेश्वरी श्रेष्ठसँग प्रत्यक्ष्य भेट गर्न भने वर्षौंपछि सम्भव भएका फ्रान्सबासी गीतकार किरण केसी पनि सो कार्यक्रममा नेपाल आएको मौका पारेर सहभागी भएका थिए। कलाकार किरण केसी र गीतकार किरण केसीको भेट पनि त्यहीं भएको थियो। भुवन केसी र शिव श्रेष्ठले एक–अर्कालाई जिस्काएर माहौल तताएका थिए भने नयाँ र पुरानो कलाकारबीचको अपूर्व मिलन कार्यक्रममा भएको थियो।