प्रधानमन्त्री ओलीको भारत भ्रमण कहिले आउला रेल र पानीजहाज

0
Shares

मधुसूदन रायमाझी, काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका क्रममा रक्सौलदेखि काठमाडौंसम्म रेलमार्ग विस्तार गर्ने र जलमार्गबाट नेपाललाई जोड्ने समझदारी भएको विषयले बढी चर्चा पायो। प्रधानमन्त्री ओलीको भारत भ्रमणका क्रममा अरूण तेस्रो जलविद्युत् आयोजनाको शिलान्यास हुने अपेक्षा गरिएको थियो। तर दुई देशबीचमा धेरै ठूलो र नयाँ सहमति भएन। विगतमा चर्चा र बहसमा नआएकै विषयमा प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच समझदारी भएको छ।

नेपाल र भारतले संयुक्तरूपमा कृषि क्षेत्रको विकासमा काम गर्ने, दुवै पक्षले निर्यातमा समेत जोड दिने समझदारीमा उल्लेख भएको छ। यसअघि प्रधानमन्त्री हुँदा समुद्रमा नेपालको झण्डावाहक पानीजहाज सञ्चालन गर्ने विषयले निकै चर्चा पाएको थियो। दोस्रोपटक प्रधानमन्त्री बनेपछि पनि ओलीले पानीजहाज सञ्चालनलाई प्राथमिकतामा राख्दै आउनुभएको छ। नेपाल र भारतबीच भएको सहमतिअनुसार नेपालले अब कार्गोको ढुवानी जलमार्गमार्फत गर्न पाउनेछ। समझदारीमा भनिएको छ– ‘व्यापार तथा पारवहन सम्झौताअन्तर्गत रहेर जलमार्गमार्फत कार्गो ढुवानीका लागि भारतले नेपाललाई समुद्रसम्मको पहुँच दिने ऐतिहासिक समझदारीमा दुई प्रधानमन्त्री सहमत छौं।’

विगतमा पनि नेपालका प्रधानमन्त्रीहरूले भारत भ्रमणका क्रममा विभिन्न समझदारी गर्ने गरे पनि कार्यान्वयन तहमा भने खासै नदेखिने गरेको छ। छोटो समयमा नै सरकार परिवर्तन र राजनीतिक स्थायित्व नहुँदा भारतसँग भएको समझदारी कार्यान्वयनमा आउन नसकेको रूपमा लिइँदै आएको छ। तर, वाम गठबन्धनको नेतृत्वमा सरकार गठनसँगै भारतसँग भएको समझदारी कार्यान्वयन हुने विश्वास देखिएको छ।

नेपाल र भारतबीच एक वर्षभित्रै काठमाडौं र रक्सोल जोड्ने रेलको सम्भाव्यता अध्ययनको सहमति भएको छ। चीनले पनि नेपालसम्म रेलमार्ग विस्तार गर्ने घोषणा गरेपछि भारतले पनि नेपालसम्म रेलमार्गको विस्तार गर्न चासो देखाएको छ। सहमतिअनुसार रेलको सर्वे भारतले गर्ने र सर्वेपछि दुई मुलकको आपसी समझदारीमा लगानीको मोडल र विस्तृत परियोजन निर्माण अगाडि बढाइने सहमतिमा उल्लेख गरिएको छ। नेपाल र भारतबीच तीन नयाँ ठाउँबाट भारतीय रेल नेपाल जोड्न समझदारी भएको छ। जलपाइगुडीबाट काकडभिट्टा, नौतनवाबाट भैरहवा र नेपालगन्जमा भारतीय रेल जोड्ने समझदारी भएको छ।

दुई प्रधानमन्त्रीले सन् २०१८ भित्रै जयनगरदेखि जनकपुर र जोगबनीदेखि विराटनगर रेल निर्माण सम्पन्न गर्ने समझदारी भएको छ। नेपाल र भारतबीच पटक–पटक समझदारी गरी कार्यान्वयन नहुने परम्परालाई तोडेर कार्यान्वयन गरेर जानुपर्नेमा नेपालका राजनीतिक दलहरूले जोड दिएका छन्। समझदारी मात्र ठूलो उपलब्धि नभई कार्यान्वय तहमा लैजानु नै मुख्य चुनौती भएको राजनीतिक दलका नेताहरूले बताएका छन्।

नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री ओलीको भारत भ्रमण उपलब्धिपूर्ण रहेको बताउनुभयो। उहाँले नेपालका लागि आवश्यक जलमार्गको बारेमा उच्च तहमा समझदारी हुनु उपलब्धि भएको बताउनुभयो। नेता खनालले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘समझदारीअनुसार अब नेपाल जलमार्गमा जोडिनेछ, रेलमार्गको पनि चर्चा आएको छ।’ विगतमा भएको सहमति र समझदारी कार्यान्वयन नहुने पुरानै रोग भएको उल्लेख गर्दै नेता खनालले ओली नेतृत्वको सरकारले कार्यान्वयन गर्नेतिर ध्यान दिनुपर्ने बताउनुभयो। ‘नेपाल र भारतको बीचमा अझै समस्या छैनन भन्ने होइन, समस्या छन, तर ती समस्याहरूलाई उपयुक्त ढंगले समाधान गर्नुपर्छ’, उहाँले भन्नुभयो– ‘नेपाल र भारतको बीचमा अब सम्बन्ध सुधार आएको छ, अब कटुतापूर्ण सम्बन्ध छैन।’

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले बाहिर संस्कार र सम्मान राम्रो देखिए पनि भित्री कुराको प्राविधिक पक्षको अध्ययन गर्न आवश्यक रहेको बताउनुभयो। उहाँले नेपाल समाचारत्रपसँग भन्नुभयो– ‘नेपाल र भारतको बीचमा समझदारी हुने गफ धेरै हुने काम गरेका छन्, कुराका लागि कुरा हुने गरेको छ।’ उहाँले नेपाल र भारतको बीचमा भएको समझदारीलाई कार्यान्वय पक्षमा जान्छ कि जाँदैन भनेर आफ्नो पार्टीले नजिकबाट नियाल्ने बताउनुभयो। प्रधानमन्त्री ओलीको भारत भ्रमणलाई लिएर राजनीतिक दलले मिश्रित प्रतिक्रिया दिएका छन्। प्रधानमन्त्री ओलीको भारत भ्रमण पराम्परागतरूपमा भएको पनि राजनीतिक दलहरूले बताएका छन्। तर, नयाँ विषयमा समझदारी नभएकाले प्रधानमन्त्री ओलीको भारत भ्रमण विगतमा बिग्रिएको सम्बन्ध सुधारका लागि भएको राजनीतिक दलहरूले लिएका छन्।

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणले दुई देशबीचको सम्बन्धलाई खुलस्त पार्ने काम गरेको प्रतिक्रिया दिनुभयो। उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘जे–जति भएको छ, यो नै उपलब्धि हो, के हुनुपर्दथ्यो किन भएन भन्ने तर्क भिन्नै हो तर जे भएको छ राम्रो भएको छ।’

भारत भ्रमणको क्रममा दुई देशबीच सहमति र सम्झौता हुने तर कार्यान्वयन परम्परा छ नि भन्ने नेपाल समाचारपत्रको जिज्ञासामा पूर्वपराष्ट्रमन्त्री यादवले भन्नुभयो– ‘भएको सहमति र सम्झौतालाई कूटनैतिक प्रयासबाट अगाडि बढाउनुपर्छ।’

भारत भ्रमणलाई नकरात्मकरूपमा भन्दा पनि सकारात्मकरूपमा नै राजनीतिक दलहरूले लिएका छन्। राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले यो भ्रमणलाई सन्तोषजक भ्रमणका रूपमा लिएको प्रतिक्रिया दिनुभयो। उहाँले भन्नुभयो– ‘नेपाल र भारतको जनतास्तरमा कहिले पनि सम्बन्ध बिग्रएको छैन, जनस्तरको सम्बन्ध सधैं राम्रो छ, अहिले ओलीको भारत भ्रमणले एक हदलसम्म विश्वासको वातावरण निर्माण गरेको छ।’

भएका सहमति र समझदारीलाई दृढतापूर्वक कार्यान्वन गर्न लाग्नुपर्नेमा जोड दिँदै यादवले नेपालको तर्फबाट समहमति कार्यान्वय गर्न प्रतिबद्ध लाग्नुको साथै यदि भारतको कारण कार्यान्वयन हुन नसकेमा प्रश्न गर्न सक्ने हैसियत निर्माण गर्नुपर्नेमा जोड दिनुभयो। नेपालमा रेल र जलमार्गले जोडने नयाँ विषय नभएको बताउँदै उहाँले नयाँ सहमतिभन्दा पनि भएका सहमति कार्यान्वय गर्दा पनि देशले फाइदा लिन सक्ने बताउनुभयो।

नेपाली कांग्रेसका नेतासमेत रहेका पूर्वपराष्ट्रमन्त्री डा. प्रकाशरण महतले नेपाल र भारतको सम्बन्ध सधैं सुमुधर रहेको बताउँदै व्यक्तिगत दृष्टिकोणबाट हेर्दा प्रधानमन्त्री ओलीको भ्रमण उपलब्धिमूलक रहेको प्रतिक्रिया दिनुभयो। देउवा नेतृत्वको सरकारले नै नेपाल र भारतबीच बिग्रिएको सम्बन्ध सुधार गर्दै विश्वासको वातावरण निर्माण गरिसकेको उल्लेख गर्दै उहाँले सत्ताबाहिर रहँदा चर्का कुरा गर्ने र सत्तामा पुगेपछि सबै कुरा राम्रो भन्ने कम्युनिस्टहरूले चरित्र रहेको आरोप लगाउनुभयो। ‘सत्तामा नहुँदा उहाँहरू नेपाल भारतको सम्बन्धलाई लिएर चर्को कुरा गर्ने प्रचलन छ’, उहाँले भन्नुभयो– ‘सत्तामा आएपछि सबै राम्रो हुन्छ। कम्युनिस्टहरूले परम्परा नै हो।’

नेपालका सरकारी संयन्त्रले समयमा नै काम नगर्ने कारणले पनि विगतमा भएका सहमति कार्यान्वय नहुने परम्पार रहेको बताउँदै नेता महतले पञ्चेश्वर परियोजना अगाडि बढाउने र नेपालतर्फ हुने गरेको डुवानको समस्या हटाउन संयुक्त टोलीले मेचीदेखि महाकालीसम्म निरीक्षण गरेर टुंगो लगाउने भनेको विषयले भ्रमणमा कतै पनि चर्चा नभएको बताउनुभयो। नेपाल–भारत रेलमार्ग निर्माण गर्ने विषय विगतदेखि नै चल्दै आएको बताउँदै जलमार्गमार्फत कोसीसम्म पानीजहाज ल्याउने विषय सहज नभएको प्रतिक्रिया दिनुभयो।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले जल नबेच्नु नै प्रधानमन्त्री ओलीको भ्रमण सफलताको कारण रहेको बताउनुभयो।

उहाँले नेपालमा राष्ट्र प्रमुख र सरकार प्रमुख भएपछि पहिलो भ्रमण भारतबाटै नगरी नहुने कर्मकाण्ड ओलीको भारत भं्रमणले पूरा गरेको प्रतिक्रिया दिनुभयो। उहाँले समाचारपत्रसँग भन्नुभयो– ‘५४ जनाले मुख फेरेर आएका छन, तीर्थ राम्रो नै देखियो, जलत्रास थियो, यसबाट जोगियो, भ्रमणको उपलब्धि नै यही हो।’ चीनले नेपालमा रेलमार्ग निर्माण गर्ने भएपछि भारतलाई हतारो भएको प्रतिक्रिया दिँदै उहाँले रेलमार्ग बने नेपालले स्वागत नै गर्ने बताउनुभयो।

कुनै विवादित सहमति नहुनुलाई नै प्रधानमन्त्री ओलीको भारत भ्रमणको सफलताको रूपमा हेरिएको छ। भ्रमण अघि केही विषय चर्चामा आए पनि कुनै सहमति भएन। ओलीको भारत भ्रमण दुई देशको सम्बन्धलाई थप विश्वास विकास गर्ने अर्थको रूपमा हेरिएको छ।

नेकपा माओवादी केन्द्रका नेता मणि थापाले प्रधानमन्त्री ओलीको भारत भ्रमणमा पुरानै विषयवस्तुहरू दोहोरिएको बताउनुभयो। उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘विशेष गरेर अविश्वासलाई विश्वासमा रूपान्तरण गर्ने काम भ्रमणबाट भएको देखिन्छ, भ्रमणले विश्वासको वातावरण निर्माण गरेको छ।’ भ्रमण वस्तुवादी भन्दा पनि अलि बढी प्रचार भावनात्मक भएको उहाँले प्रतिक्रिया दिनुभयो।