“नेपालको जनमत र लोकतान्त्रिक प्रक्रियालाई भारतले स्विकार्यो”

0
Shares

नेपाल समाचारपत्र
काठमाडौं
भारतले नेपालको जनमत र लोकतान्त्रिक प्रक्रियालाई स्विकारेर सोहीअनुसारको व्यवहार गरेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताउनुभएको छ।

आफू जनताको अभिमतलाई बोकेर भारत गएको र भारतले पनि त्यसलाई स्वागत गरेको उहाँको भनाइ छ। भारत भ्रमणपछि आइतबारसाँझ स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग प्रधानमन्त्री ओलीले आफ्नो भारत भ्रमण दुई देशबीच विश्वास अभिवृद्धि गर्न र सम्बन्ध थप सुदृढ गर्न उपलब्धिमूलक भएको दाबी गर्नुभयो।

‘निर्वाचनपछिको लोकतान्त्रिक प्रक्रिया जसरी बढ्यो, जनताको अभिमत जसरी आयो, त्यो अभिमतलाई बोकेर म गएँ र त्यसलाई भारतले स्वागत गर्यो’, उहाँले भन्नुभयो– ‘नेपाली जनताको भावनाको, अभिमतको प्रतिनिधित्व भएको थियो, मैले कुरा गर्दा पनि त्यसरी नै गरें।’ भ्रमण कुनै बनावटी र देखावटी कुरामा नभएर, विगतका सम्झौता कार्यान्वयन गर्न, यथार्थ र उपलब्धिपूर्ण ढंगले अघि बढेको ओलीले बताउनुभयो।

नेपालले वैदेशिक सम्बन्ध मित्रताका आधारमा अघि बढाउन चाहेको, सम्बन्ध पारस्परिक हित, एकअर्काको सार्वभौमसत्ता, स्वाभिमानको सम्मानका आधारमा हुने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भारतीय पक्षसँग पनि त्यसरी नै कुरा गरेको बताउनुभयो। ‘जायज हितहरूको सम्मान, स्वाभिमान, अहस्तक्षेप र पारस्परिक लाभको सम्बन्धलाई अन्य ढंगले सञ्चालन गर्न खोजियो भने मित्रता वास्तवमा मित्रता झल्कँदैन।’ –उहाँले भन्नुभयो। यो भ्रमणका क्रममा रक्सौल–काठमाडौं रेलवे, जलमार्ग, कृषिका विषयमा महत्त्वपूर्ण सहमति भएको र सीमा विवाद, डुबानलगायतका समस्याबारे गम्भीर छलफल भएको ओलीको भनाइ थियो।

विगतमा भएका द्विपक्षीय सहमति र सम्झौता संवादमार्फत समाधान गर्न चाहेको बताउँदै प्रधानमन्त्री ओलीले भन्नुभयो– ‘तमाम कुरा उठेका छन्, सकारात्मक प्रगति भएको छ। जुन कुरा लिखितरूपमा आएको छ, त्यसलाई त्यसरी नै अगाडि बढाएका छौं।’ आगामी दिनमा नेपाल–भारत सम्बन्ध कस्तो रहन्छ भन्नेबारेमा सोधिएको प्रश्नमा उहाँले (तस्वीर) भ्रमण आफै प्रस्ट भएको उल्लेख गर्दै भन्नुभयो– ‘बिगारेन भने सधैंका लागि राम्रो हुँदै जान्छ, तर, हामी बिगार्दैनौं, सकारात्मक ढंगले अघि बढ्छौं, बिगार्न हुँदैन सम्बन्धलाई।’

प्रतिबन्धित भारतीय नोट सटहीका बारेमा नेपाल समाचारपत्रले राखेको जिज्ञाशामा भने उहाँले प्रस्ट जवाफ दिनुभएन। कृषिलाई आधुनिकीकरण गर्ने, हवाई रुट थप गर्ने, रोकिएका नेपाली ग्यास बुलेट सञ्चालनमा ल्याउने बारेमा महत्त्वपूर्ण छलफल भएकाले यी विषयले छिट्टै व्यावहारिक रूप लिने उहाँको भनाइ थियो। आइतबार स्वदेश फर्कनुअघि प्रधानमन्त्री ओलीलाई भारतको पन्तनगरमा रहेको गोविन्द बल्लभ पन्त कृषि तथा प्राविधिक विश्वविद्यालयले मानार्थ विद्यावारिधि उपाधिबाट सम्मान गरेको छ।