आदिवासी जनजाति पत्रकार महासंघको महाधिवेशन शुरु

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) को छैटौं महाधिवेशन शुक्रबार राजधानीमा शुरु भएको छ ।
भृकुटीमण्डपको महेन्द्र पुलिस परिसरमा आयोजित सो महाधिवेशनको उपराष्ट्रपति नन्दकिशोर पुनले उद्घाटन गर्नुभयो ।

सो अवसरमा उपराष्ट्रपति पुनले आर्थिक अभावले गर्दा कयौं पत्रकारहरु विदेश पलायन भइरहेको र पेशा नै परिर्वतन गर्ने अवस्थामा पुगेको उल्लेख गर्दै यस्तो अवस्थाको अन्त्य गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गराउनुभयो ।

उपराष्ट्रपति पुनले पत्रकारितालाई आवाजविहीन आवाज भन्ने गरेकोले नेपालको सन्र्दभमा सयौं वर्षदेखि राज्यसत्ताबाट उत्पीडित वर्ग र समुदायको आवाजलाई सञ्चारमाध्यमले उचित प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।

‘वहिष्करणमा परेका वर्ग र समुदायको आवाजलाई प्राथमिकता दिनु नै आवाज विहीनको आवाजलाई अगाडि ल्याउनु हो । यसको व्यावहारिक अभ्यास अझ बढ्ने पनि विश्वास गर्दछु ।’ उपराष्ट्रपति पुनले भन्नुभयो ।

अझै पनि सञ्चारमाध्यमले जाति, भाषा र धर्मको आधारमा समाचार विभेद गरेको कुरा सुनिएको बताउँदै उहाँले भन्नुभयो ‘संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालमा यस्तो अवस्था हुनु दुःखद् विषय हो ।यसको अन्त्य गर्न सबै पत्रकारहरु लाग्नुपर्दछ ।’

सो अवसरमा सँचना तथा सञ्चार प्रविधि राज्यमन्त्री गोकुल बाँस्कोटाले प्रेस स्वतन्त्रता र छाडापन आधारभुत भिन्नता रहेको बताउँदै जथाभावि र मनपरी तवरले लेख्नु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता भित्र नपरेको धारणा राख्नुभयो ।‘स्वतन्त्रताको पनि आफ्नो सीमा हुन्छ । जे पायो त्यही लेख्ने पत्रकारिता हो र ?’ उहाँले भन्नुभयो ।

राज्यमन्त्री बाँस्कोटाले समावेशी सञ्चार नीतिको कार्यान्वयन गर्न सरकार तत्पर रहेको पनि बताउनुभयो ।

सो अवसरमा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले नेपाली सञ्चारमाध्यमलाई समावेशी र पँर्ण समानुपातिक सहभागिताकाका विषयमा फोनिजले उठाउँदैको मुद्दाप्रति महासंघकोऐक्यबद्धता रहेको बताउनुभयो ।अध्यक्ष आचार्यले समावेशी पत्रकारिताका लागि सबैसंग मिलेर जाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज)का अध्यक्ष डण्ड गुरुङ्गले नेपाली समाजको विविधता सञ्चारमा देखिन समाचारकक्ष समावेशी हुनुपर्ने खाँचो औल्याउँनुभयो । उहाँले आदिवासी जनजाति, मधेशी, दलित र महिलाको मुद्दालाई कतिपय सञ्चारमाध्यमले अनुदान र साम्प्रदायिक रुपमा हेर्ने गरेको उल्लेख गर्दै यसले समावेशी पत्रकारिताको अभ्यासका लागि अझ खरो रुपमा उत्रिनुपर्ने देखाएको धारणा राख्नुभयो ।

अध्यक्ष गुरुङ्गले सञ्चार मन्त्रालयले पत्रकार सम्बद्ध संघसंस्थालाई बाँड्ने रकम समानुपातिक रुपमा बाँड्नुपर्नेमा जोड दिँदै राज्यको स्रोत र साधनमा सबैको समान अधिकार रहेको भनाई राख्नुभयो ।‘अझै पनि आदिवासी जनजातिहरुको समाचार कम भन्दा कम छापिने गरेको छ । यसको अन्त्यका लागि महासंघ सशक्त भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्दछौं ।’अध्यक्ष गुरुङ्गले भन्नुभयो ।

आज शनिबारसम्म चल्ने महाधिवेशनले आउँदो तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्ने छ । महाधिवेशनमा सहभागी हुन फोनिजको ५८ जिल्लाका पार्षाद, फोनिजमा आबद्ध आठ वटा जातीय पत्रकार संगठनका तीन जना प्रतिनिधि र एक जना पर्यवेक्षण गरी जम्मा ३ सय ५० जना सहभागी भएका थिए ।नेपाल विविधताले भरिएको प्रतिकात्मक रुपमा कतिपय महाधिवेशन प्रतिनिधिहरु आआफ्नो जातीय पहिचान झल्किने पहिरनमा सज्जिएर सहभागी भएका थिए ।

पाँच वर्ष अघि राई पत्रकार संघ, नेपाल मगर पत्रकार संघ, लिम्बु पत्रकार संघ, थारु पत्रकार संघ , नेवाः पत्रकार राष्ट्रिय दबँ, शेर्पा सञ्चार समँह, तमु (गुरुङ्ग) सञ्चारकर्मी संघ, तामाङ्ग पत्रकार संघ गरी आठ वटा जातीय पत्रकार संघलाई आबद्ध गरी सो महासंघ बनेको थियो ।फोनिजको हाल देशभर ५८ जिल्लामा शाखाहरु रहेको छ ।