राष्ट्रहितका बिषयमा मात्रै सन्धि गर्न थापाको सुझाव

0
Shares

हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले भोलि देखि हुने प्रधानमन्त्रीको भारत भ्रमणमा नेपालबीच भएका सन्धिहरु परिमार्जन गरी कार्यान्वयन गराउन पहल गर्न सुझाव दिनुभएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण सफलताको सुभेच्छा प्रकट गर्दै भ्रमणको क्रममा भारत र नेपालबीच भएका पुराना सन्धिहरु पनरावलोकन गरी पुन कार्यान्वयन गराउन र राष्ट्रको हित हुने दुरगामी योजनाका बिषयहरुमा मात्रै भ्रमण केन्द्रित गर्न अध्यक्ष थापाले सुझाव दिनुभएको छ ।

राप्रपा मकवानपुरका नगर कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष थापाले तत्कालिन प्रधानमन्त्रीको भारत भ्रमणका बेला दुई देशबीच भएको १९५० को शान्ति तथा मैत्री सन्धिलाई पुनरावलोकनका लागि गठित नेपाल भारत प्रवुद्ध समूहको म्याद ६ महिना थप गर्न समेत सुझाव दिनुभएको छ ।

अहिलेको सरकारले हिन्दुहरुकोे आस्थामाथि ठाडो प्रहार गर्दै विदा कटौती गरेकोमा आपत्ती समेत प्रकट गर्नुभयोे । थापाले क्रिश्चियनहरुको क्राइष्टको जन्मोत्सवमा विदा दिने सरकारले सनातन धर्मका आस्था भगवान श्रीकृष्ण र रामको जन्मोत्सवमा विदा कटौती गर्ने काम गरेको भन्दै आलोचना गर्नुभयोे ।

यस्तै भुकम्प पिडितको लागि यस अघिका सरकारले थप छुट्याएको १ लाख रुपैया अहिलेको सरकारले उक्त निर्णय नै नभएको भन्ने कुरा गलत भएको बताउनुभयो ।

कार्यक्रममा हेटौँडालाई प्रदेश नम्बर ३ को स्थायी राजधानी बनाउन सबै क्षेत्र लाग्न आग्रह गर्नुभयो । प्रदेश नम्बर ३ राजधानीको लागि हेटौँडा सबैभन्दा उपयुक्त स्थान भएको उल्लेख गर्दै अध्यक्ष थापाले निर्माणधिन द्रुतमार्ग, कान्तिराजपथ, धरान चतरा सडक निर्माणले जुनसुकै जिल्लाबाट पनि निकै छोटो समयमा हेटौँडा आउन सकिने धारणा व्यक्त गर्नुभयो ।

राप्रपा नगर समिति अध्यक्ष गुरुप्रसाद सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा राप्रपाका केन्द्रीय उपमहासचिव राजाराम बर्तौला, केन्द्रीय सदस्य मधु अधिकारी लगाएतको आतिथ्यता रहेको थियो ।