गोकर्ण र गोंगबुका जुवाडे पक्राउ

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं । प्रहरीले राजधानीको दुई छुट्टा–छुट्टै स्थानबाट ७ लाख नगदसहित १४ जुवाडेलाई पक्राउ गरेको छ । बुधबार काठमाडौंको गोकर्ण र गोंगबुबाट नगदसहित उनिहरु पक्राउ परेका हुन ।

महानगरिय प्रहरी कार्यालय, रानीपोखरी र महानगरीय प्रहरी परिसर, काठमाडौंबाट संयुक्त रुपमा खटिएको प्रहरीले गोकर्णेश्वर नगरपालिका–६ बाट नगद ६ लाख ४० हजारसहित ११ जुवाडे पक्राउ गरेको महानगरीय प्रहरी परिसरले जानकारी दिएको छ ।

पक्राउ पर्नेहरुमा पूर्ण लामा, दावा शेर्पा, अर्जुन आचार्य, दावा शेर्पा, फुर्वा शेर्पा र चेना शेर्पा, वीरबहादुर तामाङ, कृष्ण तामाङ, दौलत सिंह लामा, विक्रम लामा र निशान लामा रहेका छन । स्थानीयले दिएको सूचनाको आधारमा पूर्ण लामाको घरबाट पक्राउ परेका उनीहरु सबै सिन्धुपाल्चोकको भएको प्रहरीले जनाएको छ ।

त्यस्तै प्रहरीले काठमाडौं महानगरपालिका–२६, मित्रनगरबाट ३ जनालाई तास खेलिरहेको अवस्थामा पक्राउ गरेको छ । प्रहरीले प्रेम बहादुर माझीले सञ्चालन गरेको सिन्धुली रिमिक्स गेष्ट हाउसको दोश्रो तलाको २०१ नं. को कोठाबाट उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरी टोलीले सिन्धुली कमलामाई नगरपालिका घरभइ मित्रनगर बस्ने गेस्ट हाउस सञ्चालक प्रेम बहादुर माझी, दोलखा जिरी घर भई माछापोखरी बस्ने पेम्बा शेर्पा र गुल्मी चारपाला गाउँपालिका ३ घर भई मित्रनगर बस्ने लक्ष्मण पौडेललाई नियन्त्रणमा लिएको जनाएको छ ।

पक्राउ परेका उनीहरुको साथबाट नेपाली ५१ हजार ६ सय, साउदी रियल २ सय ८५, ३ सय भारु र एक डलर युएस बरामद गरेको जनाएको छ ।