शत्रु गतेलाई यस्तो साथ

0
Shares

दोस्रो सातामा प्रवेश गर्दा नगर्दै ५ करोड रुपियाँभन्दा बढी ग्रस कलेक्सन गर्न सफल फिल्म शत्रु गतेप्रति देशका शीर्षस्थ व्यक्तित्वहरूको चासो बढेको छ। केही दिनअगाडि मात्र पूर्वप्रधानमन्त्री झलनाथ खनालले परिवारसहित हेरेको फिल्म प्रधानसेनापति राजेन्द्रबहादुर क्षत्रीले परिवारसहित हेरेका छन्।

उनले राजधानीस्थित क्युज सिनेमामा सपरिवार फिल्म हेरेका हुन्। सो हलमा प्रधानसेनापति क्षत्रीसँगै नेपाली कांग्रेसका नेता जगदीश नरसिंह केसी, नेत्री तथा गायिका कोमल ओली फिल्मकर्मी नीर शाहलगायतले परिवारसहित हेरेका छन्।

फिल्मले दोस्रो साताको शनिबार राजधानीको गुण सिनेमामा आश्चार्यजनक व्यापार गरेको छ। गुणमा बिहानी शोमा ३ हल, १२ बजेको शोमा ४ हल, ३ बजेको शोमा ५ हल र बेलुकीको शोमा ३ हल हाउसफुल भएको यसको निर्माण समूहले जनाएको छ। शनिबार मात्र गुणमा १५ शो हाउसफुल भएको थियो। यसै गरी शनिबार नै फिल्मले गोपीकृष्ण हलमा समेत राम्रो व्यापार गरेको छ। गोपीकृष्णमा कृष्णसहित बिहानी शोमा २ हल, ११ र २ बजे बजेको शोमा ३ हल र ५ बजे ४ हलमा हाउसफुल भएको थियो। यसै गरी अष्टनारायणमा पनि यसले गतिलो व्यापार गरेको छ भने अन्य मल्टिप्लेक्सका अधिकांश शो हाउसफुल भएका छन्। ‘फिल्म हेरिरहदा कहीं कतै बोर हुँदैन, समय बितेको चाल पाइँदैन’ – प्रधानसेनापति क्षत्रीले भने।

जात्रा निर्देशक प्रदीप भट्टराईद्वारा निर्देशित फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, किरण केसी, दीपकराज गिरी, दीपाश्री निरौला, पल शाह, प्रियंका कार्की, आँचल शर्मा, राजाराम पौडेल, नरेन्द्र कंसाकार, शिवहरि पौडेल, वसुन्धरा भुसाल, रमेश रञ्जन झालगायतले अभिनय गरेका छन्।