प्रचण्ड र शीर्ष नेताका बीच कान्छी

0
Shares

नायिका तथा निर्मात्री श्वेता खड्काद्वारा निर्मित फिल्म कान्छीको आइतबार राति राजधानीको कुमारी हलमा भीआईपी शो आयोजना गरिएको छ। भीआईपी शोमा पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), एमाले नेता तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, सूचना तथा सञ्चार राज्यमन्त्री गोकुल बास्कोटा, प्रदेश नम्बर ३ का सामाजिक विकासमन्त्री युवराज दुलाल, नयाँ शक्ति पार्टी नेपालकी नेतृ हिसिला यमीलगायत शीर्ष नेताहरूले फिल्म हेरेर प्रतिक्रिया जनाएका छन्।

प्रचण्डले पूरा फिल्म हेरेर आकाश अधिकारीद्वारा निर्देशित कान्छी फिल्म र यसका कलाकारको कामको प्रशंसा गरेका थिए। परिवारका साथ फिल्म हेर्न पुगेका प्रचण्डले कार्यक्रममा बोल्दै श्वेतालाई आफूजस्तै पीडाको साथी भएको बताए। ‘श्वेताजीले निवासमै आएर कार्यक्रमका लागि निमन्त्रणा गरेपछि मैले नाईं भन्न सकिनँ। श्वेता र हाम्रो परिवार एउटै पीडाबाट गुज्रिएको छ। त्यो पीडाको अनुभूतिको समानताका कारण पनि उहाँले
भन्नेबित्तिकै मैले स्वीकार गरें’, प्रचण्डको भनाइ थियो– ‘मैले जिम्मेवारी महसुस गरें र भावनात्मक अनुभूतिको तीव्रताका कारण पनि म आएको हुँ।’ कान्छीको सफलता र श्वेताले पीडालाई शक्तिमा बदल्ने आँट गरेकामा बधाई दिँदै प्रचण्डले भने– ‘उहाँले आफ्नो श्रीमान् (नायक तथा निर्माता श्रीकृष्ण श्रेष्ठ) को सम्झनामा श्वेता श्री फाउन्डेसन खडा गरेर माझी बस्ती निर्माणसँगै फिल्म निर्माण गरेर सामाजिक सन्देश दिने साहस जुटाउनुभएकोमा धन्यवाद दिन चाहन्छु। उहाँलेजस्तै मैले पनि परिवारको प्रिय सदस्य गुमाएको छु। त्यो पीडालाई शक्तिमा बदलेर राष्ट्र र जनताका लागि समर्पित हुने मैले पनि संकल्प गरेको छु। हाम्रो पीडा एउटै हो। हामी एक अर्काका साथी हौं। मैले आफूजस्तै साथी श्वेताजीलाई पनि ठानेको छु।’

कार्यक्रममा भावुक हुँदै नायिका तथा निर्मात्री खड्काले देशका विशिष्ट व्यक्तित्को उपस्थितिले आफूलाई थप ऊर्जा मिलेको बताइन्। कार्यक्रममा प्रचार सामग्री डिजाइनर सुन्दर श्रेष्ठलाई सम्मान गरियो। फिल्मको शोपश्चात् श्वेताको फाउनडेसनले निर्माण गरिरहेको माझी बस्तीका लागि ईजी रेमिटेन्सले ५० हजार र प्रकाशबाबु थापाले १ लाख १० हजार रुपियाँ श्वेतालाई हस्तान्तरण गरेका छन्। श्वेताले वैशाखसम्म माझी बस्ती बनाएर हस्तान्तरण गर्ने जानकारी गराएकी छिन्।

काया फिल्म्स् प्रालिको प्रस्तुतिमा श्वेता खड्काद्वारा प्रस्तुत तथा शैलेश खड्काद्वारा निर्मित फिल्ममा श्वेता खड्का, दयाहाङ राई, आशान्त शर्मा, अनु शाह, कामेश्वर चौरासिया, प्रज्वल सुजल गिरी, विनोद न्यौपाने, भूमिका श्रेष्ठ, रमेश अधिकारी, जयनन्द लामा, नीर शाहलगायतले प्रमुख भूमिकामा अभिनय गरेका छन्। रविन खड्का सहनिर्माता रहेको फिल्ममा लेखन यम थापा, संगीत अर्जुन पोखरेल र राजनराज शिवाकोटी, नृत्य वसन्त श्रेष्ठ, द्वन्द्व हिमाल केसी, छायांकन पुरुषोत्तम प्रधान तथा सम्पादन बनिष शाह र भूपेन्द्र अधिकारीको रहेको छ।