राजनीतिक आधार हिजो र आज

0
Shares

कृष्ण प्रजापति

राणा शासनकालमा हामीकहाँ आवश्यकता भनेकै प्रजातन्त्र थियो। भारतमा स्वतन्त्रता प्राप्त भइसकेको वा बेलायती सत्ताबाट मुक्त भएर त्यहाँका विभिन्न प्रान्तमा स्वतन्त्रताको प्रकाश फैलिँदै गइरहेको बखत नेपालमा भने तानाशाही शासकहरूजस्तै थिए। उनीहरू आफ्नो एकाधिकार जारी राखी मौन बसिरहेका थिए। उक्त तानाशाही शासन सत्ताको विरुद्ध जनचेतना सिर्जना गर्ने कार्य शुरु गरेका केही अग्रज व्यक्तिहरूलाई राणाहरूले पक्राउ गरी सजायँ सुनाए। यसलाई त्यो बेलाको पुस्तकालय पर्व भन्ने गरिन्छ। त्यसपछि पनि शिक्षा प्राप्तिको लागि यो देशमा आफूखुशी शासन सञ्चालन गरिरहेको देखा पर्यो। जंगबहादुरले शुरु गरेको १०४ वर्ष लामो शासन व्यवस्था पनि सुवर्ण शमशेरजस्ता राणाविरोधीको उदयपछि पतन हुन पुग्यो। राणा शासनभित्र पनि आफूहरू मात्रै हाबी हुने रोलक्रम लागू भइरहेकाले त्यसभित्र पनि ‘कीरा’ देखा परेको हो।

राणा शासनपछि अस्थिररूपमा १० वर्ष शासन सञ्चालन भएपछि राजा महेन्द्रले पनि तानाशाही व्यवस्था शुरु गरी ३० वर्षसम्म पञ्चायती राज टिकिरह्यो। त्यसको विरोधमा उर्लिएको शिक्षक आन्दोलन, किसान आन्दोलन त्यति बेलाको राजनीतिक आधारहरू हुन्। माओत्सेतुङले भनेजस्तै बुद्धिजीवीहरूप्रतिको सह–नीति नै क्रान्तिमा विजयको लागि महत्वपूर्ण आधार हो। हो, चीनमा पनि किसान आन्दोलनमार्फत कम्युनिस्ट शासन व्यवस्था लागू भएकाले नेपाल पनि कृषिप्रधान देश भएकाले यहाँ पहिला किसान आन्दोलनमार्फत जनचेतना फैलाउने कार्य अगाडि बढाइयो। खेतबारीका लागि रासायनिक मल सस्तोमा उपलब्ध गराउनुपर्ने, दूधको भाउ वृद्धि गनुपर्नेजस्ता मागसहित जग्गामा मोहियानी हक कायम गर्नुपर्ने कुरा जनतालाई आकर्षित गर्ने नारा मात्रै थिएन कि त्यस बेलाको लागि नेपाली राजनीतिक आन्दोलनको मूल आधार नै किसान आन्दोलन रहेको थियो।

भक्तपुरको सन्दर्भमा कुरा गर्ने हो भने, संगठन शुरु गरेको बखत २०२१ सालमा पञ्चायती शासन व्यवस्थाले भूमिसुधार लागू गरिसकेपछि किसानको घर–घरमा गएर बाली तिरेबापतको भर्पाइ बुझी लिने, मोहियानी हक कायम गर्ने, बाली काट्ने आन्दोलन भनी जुन किसानले बाली लगाइएको हो, उसैको घरमा बाली काटेर घरसम्म पुर्याइदिने काम गरी किसान संगठनमार्फत कृषक जनताको सेवा भएको थियो। त्यस बेलाको राजनीतिक आधार भनेकै किसान आन्दोलन थियो। राजनीतिक पार्टीहरू त त्यति बेला प्रतिबन्धित नै थिए। तैपनि किसानहरूको संगठन गरी उनीहरूले अलि–अलि गरी बुझाएको लेबी वा बालीको भरमा पनि किसान संगठन चलेको थियो।

अहिले त्यो स्थिति रहेन। हिजोका सबैजसो किसान अहिले आएर धमाधम मजदुरको रूपमा परिणत हुँदै छन्। कतिपय किसानहरू ईटा भट्टाका साहु हुन पुगेका छन्। उनीहरूले आफ्नो जमिनलाई बिगारेर इँटा उत्पादन गरिरहेका छन्। वातावरण बिग्रिए पनि आफ्नो आम्दानी भने बढाइरहेको स्थिति छ। भट्टा साहुहरूबाट विभिन्नरूपमा चन्दा असुलेर पार्टी सञ्चालन गर्ने परिपाटीको राजनीतिक पार्टीभित्र विकास हुँदै गएकाले अहिले आएर राजनीतिक आधार किसानहरू र किसान आन्दोलन रहिरहन
सकेको देखिन्न।
जसले एक–दुई ट्रिप बढी इँटाको रकम पार्टीलाई चन्दा दिन सक्यो। जसले १०–२० हजार रुपियाँ प्रत्येक इँटा भट्टाबाट चन्दा दिन सक्षम भयो, उनीहरूलाई नै पार्टीको आधार मानेर पार्टीका तर्फबाट पनि प्रदूषण बढाउने इँटा भट्टाहरूलाई नै संरक्षण दिने कार्य गरिरहेका छन्।

हिजोसम्म कृषकहरू राजनीतिक पार्टीको आधार भइरहेको बखत किसानको जग्गा बिग्रिएला, बाली बढी उत्पादन नहोला भनी चिन्ता लिने राजनीतिक नेता–कार्यकर्ताहरू सबै अब त्यसो होइन बरु चन्दा हुने भए भट्टा राखे पनि हुन्छ भन्ने मानसिकतामा पुगेका छन्। आखिर प्रदूषण त हुने नै हो। विज्ञानले प्रमाणित गरेको प्रदूषणका कारण बाली नष्ट हुने गरेको कुरालाई कसैले पनि नकार्न सकिन्न। त्यसो भए तापनि जनताले पनि काम गर्न नपर्ने गरी बालीस्वरूप रकम हातमा पर्ने, कमाएर खाने गरेका ती भट्टा साहुहरूले जतिसुकै कमाएर खाए पनि हुने गरी स्वीकृति दिने गरेको र उनीहरूको तर्फबाट बरु चाहिने जति चन्दा लिने गरेको हेर्दा अब किसान आन्दोलन नभई चन्दा दिन सक्ने खालका इँटा भट्टाका मालिकहरू मात्रै राजनीतिक पार्टीका अभियन्ता वा मालिक हुन पुगेका छन्।

भोलि गएर शैक्षिक माफियाहरू, तस्कर र भ्रष्ट कर्मचारी राजनीतिक आधारको रूपमा खडा हुने थुप्रै सम्भावना देखा परिरहेका छन्। हिजो किसान जनता वा किसान आन्दोलन राजनीतिक पार्टीको आधार भएको बेला नयाँ–नयाँ बीउ बिजन, कीटनाशक औषधि, मल र सिंचाइका लागि कुलो ल्याइदिने कुराहरू व्यापकरूपमा चर्चा–परिचर्चा हुन्थ्यो। मलको लागि लाइन बस्न गएकाहरूलाई मल ल्याइदिन नसकेकै निहुँमा उल्टो टोपी लगाउन दिएर नगर परिक्रमा गराउनेजस्ता किसान आन्दोलनका अनुकरणहरू पनि देखा परे। तर अहिले आएर भट्टा–भट्टामा आगजनी गर्ने, सामान जलाउने, भट्टा साहुहरूसँग मजदुरहरूको आन्दोलन र यौनहिंसाका मुद्दा चलाउनेजस्ता घटना बढ्दै गइरहेको स्थिति छ। साथै पानीसँगै बहने माछाजस्तै पार्टीहरू किसान आन्दोलनबाट अहिले भट्टा बचाऊ अभियान र जग्गा तस्करहरूकै संरक्षणको अभियानमा संलग्न हुँदै गइरहेका देखिन्छन्। कतिपय तस्कर, गुन्डा र जाली–फटाहा भन्ने गरेका मानिस राजनीतिको शीर्ष स्थानमा पुगिरहेको कारण र आधार पनि यही नै हो।
हिजोजस्तै गाउँ–गाउँमा किसानलाई राजनीतिक कक्षा लिएर, दूध बढी उत्पादन गर्ने उपाय सिकाएर वा नयाँ–नयाँ बाली लगाउने काइदाहरू सिकाएर पार्टी संगठन गर्ने समय अब रहेन। सामान्य जनताले भन्दा पनि लाखौं–करोडौं धनमाल खेलबाड गर्न सक्ने भ्रष्टाचारी, तस्कर र भट्टा साहुको हातमा राजनीतिक व्यवस्था पर्न जाने सम्भावना छ। यहाँ काम गरी कमाएको धनले होइन कि तस्करले कमाएको धनले राजनीतिक पार्टीहरू सञ्चालन गर्ने वा राजनीतिक संगठनलाई प्रभावित पार्ने कार्यहरू भैरहेका छन्। हिजो जेलनेल बस्नुपरेका बखत संगठनको आदेश पालना गरी दुःख–कष्ट भोगेर बसेका कार्यकर्ताहरू अगाडि आउन सक्ने समय नै भएन। यस हिसाबले हेर्ने हो भने, राजनीतिक पार्टीका लागि गाउँ–गाउँ पुगेर संगठन गरेर भोक–तिर्खा नभनी दुःख भोगेका र आन्दोलन भन्दै घरबार छोडेर लखतरान हुने गरेको समेत बेकार हुन पुगेको छ। हाल राजनीतिक आधार गरिब किसान होइन कि धनीमानीको हातमा पुगेको छ।