सितारवादक वैद्य रहेनन्


मौलिक धुनका लागि लोकप्रिय सांगीतिक समूह सुरसुधाका संस्थापकमध्येका कुशल सितारवादक विजय वैद्यको उपचारका क्रममा आइतबार ५२ वर्षको उमेरमा निधन भएको छ।

निमोनियाबाट पीडित उनको महाराजगन्जस्थित शिक्षण अस्पतालमा राति साँढे १२ बजे निधन भएको उनका छोरा क्षितिज वैद्यले बताए। ‘बुबा १८ दिनदेखि अस्पताल भर्ना गरिएको थियो। राति साढे १२ बजे निधन भयो।’ –उनले भने। उनको आइतबार नै पशुपतिस्थित आर्यघाटमा अन्तिम संस्कार गरिएको छ।

सांगीतिक समूह सुरसुधाको पूर्वसितारवादसमेत रहेका उनले सुरसुधा छोडेपछि विजय वैद्य एन्ड फ्रेन्डस् नामक ब्यान्ड खोलेका थिए। सुरसुधाका तबलावादक सुरेन्द्र श्रेष्ठले सँगै लामो समय काम गरेको साथीको निधनले दुःखी भएको बताए। ‘हामीले लामो समय सँगै काम गर्यौं। उनले सुरसुधा छोडेको धेरै समय भयो। तर, जति समय काम गर्यौं निकै मजा आएको थियो।’ –श्रेष्ठले भने। वैद्यले रकस्टार म्युजिक अफ पिस, च्यान्ट अफ हिमालय, द थर्ड आई, माउन्टेन्स अफ नेपाल, विजय द पावर अफ म्युजिकलगायतका एल्बम निकालेर सांगीतिक यात्रालाई निरन्तरता दिएका थिए। उनको परिवारमा आमा, श्रीमती र एक छोरा रहेका छन्।