नेपालीसहित भाषाभाषीका गीतलाई अवार्ड


मिडिया एन्ड इन्टरटेनमेन्ट प्रालिको आयोजनामा राजधानीमा हुने नेसनल पावर न्युज म्युजिक अवार्ड २०१८ अन्तर्गतको मनोनयन सूची सार्वजनिक गरिएको छ।

नेपालभित्र छरिएर रहेका विविध भाषामा तयार भएका गीत–संगीतको प्रवद्र्धनका लागि यो अवार्ड आयोजना गर्न लागिएको कार्यक्रमका निर्देशक राजन थापाले जानकारी गराए। अवार्डमा नेपाली मूल भाषाअन्तर्गत फिल्म, आधुनिक, पप र लोकदोहारीका तीन विधासहित नेपालमा बोलिने विभिन्न भाषा नेवारी, देउडा, तामाङ, मगर, लिम्बु, राई, शेर्पा, चौधरी (थारू) लगायत ८ भाषाका गीत उत्कृष्ट छनोट गरी मनोनय सार्वजानिक गरिएको कार्यक्रमका अध्यक्ष माधवराज खरेलले बताए। उनका अनुसार नेपाली मूल भाषातर्फ फिल्मअन्तर्गत उत्कृष्ट स्वर, शब्द र संगीत छन् भने पप⁄आधुनिक र लोकदोहोरीतर्फ स्वर, संगीत, शब्द र भिडियो रहनेछन्। त्यसै गरी विभिन्न राष्ट्रिय भाषातर्फ भने उत्कृष्ट गीत र भिडियोतर्फ गरी २ विधामा अवार्ड प्रदान गरिनेछ।

नेपालमा बोलिने राष्ट्रिय भाषामा तयार भएका गीतअन्तर्गत नेवारी, देउडा, तामाङ, मगर, लिम्बु, राई, शेर्पा, चौधरी (थारू) लगायतका गीतलाई सर्वोत्कृष्टताको पुरस्कार दिइनेछ भने गुरुङ, मैथिली, थारूलगायतका केही भाषाका सर्जकलाई प्रोत्साहन स्वरूप सम्मानसमेत गरिने आयोजकले जानकारी गराए।