विनोद सिंह विष्ट, बैतडी ।
क्याम्पसमा कार्यरत शिक्षक कर्मचारी आन्दोलित भएपछी बैतडीको मेलौली नगरपालिकामा रहेको मणिलेक बहुमुखी क्याम्पस बिगत ३ दिनदेखि बन्द रहेको छ ।
शुक्रवारदेखि क्याम्पसमा पठनपाठन बन्द हुँदा बिद्यार्थी समस्यामा परेका छन् ।
क्याम्पसका शिक्षक स्टाफ तथा कर्मचारीहरुले आफूहरुको माग सम्बोधन नहुँदा सम्म काममा नफर्कने अडान कायम गरेका छन् । २६ महिनासम्मको तलब नपाएको भन्दै क्याम्पसको चाबी सञ्चालक समितिलाई बुझाएका शिक्षक र कर्मचारीहरुले कम्तीमा १ बर्षको तलब तत्काल उपलब्ध गराउनुपर्ने माग गरेका छन् ।
लामो समयदेखि तलब नपाउँदा आफूहरुलाई काम गर्न समस्या भएको क्याम्पस प्रमुख भवानीसिंह नायकले जानकारी दिनुभयो । उहाँले भन्नुभयोँसञ्चालक समितिसंग कम्तीमा १ बर्षको तलबको माग गरिएको छ उहाँले बताउनुभयो ।
लामो समयदेखि अध्यापन गरिरहेका शिक्षक र काम गरिरहेका कर्मचारीहरुले तलब नपाएकाले अब उप्रान्त काम नगर्ने भन्दै चाबी सञ्चालक समितिलाई बुझाएको हो । क्याम्पसका शिक्षक र कर्मचारीले सञ्चालक समितिलाई चाबी बुझाएपछि पठनपाठन कार्य पनि अवरुद्ध भएको छ । शिक्षा,व्यवस्थापन र विज्ञान संकायमा स्नातक तहसम्म पढाई हुने क्याम्पसमा १५० जना विद्यार्थी अध्ययनरत रहेका छन्।
वि स २०६५ सालमा स्थापना भएको क्याम्पस सुदूरपश्चिमाञ्चल विश्व विद्यालयको आंगिक क्याम्पसको रुपमा पनि छनौट भएको छ । तर पहिला काम गरेको पैसा नपाएको भन्दै शिक्षक र कर्मचारी असन्तुष्ट बनेका हुन् ।
तल्लोसोराड क्षेत्रको मुख्य शैक्षिक थलोको रुपमा रहेको क्याम्पसका तालाबन्दी भएपछि विद्यार्थीहरु अन्यौलमा परेका छन् । क्याम्पसमा शिक्षा,विज्ञान र व्यवस्थापन संकायमा स्नातक तह सम्म पढाई हुने गर्दछ । यता सञ्चालक समितिले भने विविध कारणले समयमा तलबभत्ता दिन नसकेको जनाएको छ ।
विद्यार्थीको संख्या घट्दै जानु र क्याम्पसको खर्च बढ्दै गर्नाले समयमै तलब दिन नसकिएको क्याम्पस सञ्चालक समितिका अध्यक्ष केशवसिंह भाटले जानकारी दिनुभयो । उहाँले भन्नुभयोँ आफूहरुले शिक्षक र कर्मचारीको तलब खुवाउनका लागि प्रयास गरिरहेका छौँ ।
क्याम्पसका देखिएको समस्या समाधानका लागि सञ्चालक समितिले पहल गर्नुपर्ने मेलौली नगरपालिकाका नगरप्रमुख कृष्णसिंह नायकले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयोँ ‘नगरपालिकाले क्याम्पसको भौतिक पूर्वाधार निर्माणका लागि ५० लाख विनियोजन गरिसकेको र त्यसैबाट अन्य कुराहरुको व्यवस्थापन गर्ने सहमति भएको छँ ‘











प्रतिक्रिया