बलात्कार काण्डमा स्ववियु सभापतिसहित तीन युवा पक्राउ

0
Shares

नेपाल समाचारपत्र
पर्वत
पर्वतको गुप्तेश्वर बहुमुखी क्याम्पस, स्वतन्त्र विद्यार्थी युनियनका सभापतिसहित ३ युवा १ युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा पक्राउ परेका छन्।

बिहीबार राति कुश्मा नगरपालिका–४ छमर्के घुम्तीको १ होटलमा सामूहिक बलात्कार गरेको आरोपमा नेपाल

विद्यार्थी संघबाट निर्वाचित स्ववियु सभापति शिशिर क्षेत्रीसहित ३ युवा पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा स्ववियु सभापति कुश्मा नगरपालिका–१ पाङ सहस्रधाराका शिशिर क्षेत्रीसहित, कुश्मा नगरपालिका–५ मेलमिलापचोकका सुजल श्रेष्ठ र कुस्मा नगरपालिका–५ बड्गाउँका सौगात शर्मा पौडेल रहेका छन्। उनीहरूलाई कुस्मा नगरपालिका–४ छमर्के घुम्तीस्थत न्यु सेवा गेस्टहाउसबाट प्रहरीले बलात्कार भएकी युवतीसहित पक्राउ गरेको थियो।

जिल्ला प्रहरी कार्यालय पर्वतले दिएको जानकारी अनुसार बागलुङको चैते दशै मेला अवलोकन गरेर फर्किंदै गरेका दुई युवतीलाई बिहीबार दिउँसो ३ बजेदेखि मालढुंगाबाट लिएर आएका श्रेष्ठ र पौडेलले गेस्टहाउसमा राखेपछि शिशिरलाई बोलाएका थिए।

दिउँसैदेखि खाजा खाँदै बसेका २ युवतीलाई जबरजस्ती गर्न थालेपछि एक युवती भाग्न सफल भएकी थिइन्। अर्की स्याङजा घर भएकी १६ वर्षीया युवतीलाई भाग्न खोज्दा खोज्दै समातेर जबरजस्ती करणी गरेको बयान प्रहरीमा दिएका छन्। भाग्न सफल युवतीले आफन्तहरूलाई खबर गरेपछि उनका आफन्तहरूले प्रहरीलाई खबर गरेका थिए। प्रहरीले स्वास्थ्य जाँच गर्दासमेत बलात्कार भएको पुष्टि भएको छ। घटनास्थलबाट कन्डमसमेत बरामद गरेको प्रहरीले जनाएको छ।

पीडित युवती र घटनामा संलग्न युवाबीच यसअघि कहीं कतै पनि भेट तथा चिनजान नभएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

सामूहिक बलात्कारको आरोप लागेका युवाहरूलाई पर्वत जिल्ला अदालतबाट ७ दिनको म्याद थपेर अनुसन्धान शुरू गरेको प्रहरी निरीक्षक दीपक थापाले जानकारी दिए।

प्रहरीले होटल मालिक नारायण भन्ने शेरबहादुर हमाललाई पनि अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ।