कांग्रेस केन्द्रीय समितिको बैठक: शहीदलाई सम्झेर आत्मसमीक्षा गर्न सुझाव

0
Shares

नेपाल समाचारपत्र
काठमाडौं
नेपाली कांग्रेसको जारी केन्द्रीय समितिको बैठकमा पार्टी सभापति शेरबहादुर देउवामाथि आरोपको चाङ लागेको छ। निर्वाचनमा पराजय हुनुको दोष सभापति देउवाले लिनुपर्ने माग बढेको छ।

अधिकांश केन्द्रीय सदस्यले विशेष महाधिवेशन गर्नुपर्ने माग अगाडि सारेका छन्। पार्टी सञ्चालन गर्दा गुटगतरूपमा सञ्चालन गरेको, टिकट वितरणमा किनबेच भएकोलगायतका आरोप सभापति देउवामाथि लागेको छ।

शुक्रबार बसेको केन्द्रीय समितिको बैठकमा गत महाधिवेशनमा एउटै प्यानलबाट चुनाव लडेका नेता अर्जुननरसिंह केसीले पार्टी सभपाति देउवाको अर्को आलोचना गर्नुभएको छ। उहाँले १४औं अधिवेशनको माग गर्नुभएको छ। बैठकमा लिखित मन्तव्य राख्दै केसीले १३औं महाधिवेशनमा देउवाले वितरण गरेको प्रतिबद्धतापत्रको स्मरण गराउँदै शहीदलाई सम्झेर आफैं आत्मसमीक्षा गर्न देउवालाई सुझाव दिनुभएको छ।

कांग्रेसलाई सुदृढ र गतिशील पार्टी बनाउने, विधानसम्मत ढंगले चलाउने परिपाटीलाई संस्थागत गर्ने, पार्टीका साथीहरूलाई न्याय र सुरक्षाको प्रत्याभूति दिलाउँदै एकताबद्ध पार्टी बनाउने देउवाको प्रतिबद्धताप्रति नेता केसीले प्रश्न उठाउनुभएको छ। लिखित मन्तव्यमाा भनिएको छ– ‘पार्टी सभापतिको प्रधानमन्त्रीका हैसियतले सरकार सञ्चालनका क्रममा भए गरिएका गतिविधिको मूल्य कांग्रेसले चुकाउनुपर्यो।’

एक सातादेखि जारी बैठकमा केसीले देउवाप्रति आक्रोश पोख्नुभएको छ। उहाँले देउवालाई सत्ताको दुरूपयोग गरेकोसमेत आरोप लगाउनुभयो। प्रधानन्यायाधीशमाथि संसद्मा ल्याइएको महाअभियोग प्रस्ताव, राजदूत नियुक्तिमा देखिएको अपवाद, आईजीपी नियुक्तिको खेल, ६४ जनाको आजसम्मकै विशाल मन्त्रिमण्डल गठनजस्ता गतिविधिले सरकारको नेतृत्व बदनाम भएको निष्कर्ष केसीको रहेको छ। उहाँले भन्नुभयो– ‘प्रधानन्यायाधीशका विरूद्धको महाअभियोग प्रस्तावका हस्ताक्षरकर्तालाई नै थाहा नहुनुभन्दा लज्जास्पद कुरा के हुन सक्छ?’

केसीले बैठकमा १४औं महाधिवेशनको माग गर्नुभएको छ। केसीले विधानतः पार्टी महासमिति बैठक हरेक वर्ष बस्नुपर्ने तर महाधिवेशन भएको २ वर्ष बितिसक्दा पनि यतातिर नेतृत्वको ध्यान नगएकाले कांग्रेस महासमितिको बैठक यथाशीघ्र बोलाउनुपर्ने बताउनुभएको छ।

केन्द्रीय समितिबाट महासमितिको बैठकमा प्रस्तुत गरिने दस्तावेज सबै पक्षबाट सहमतिका आधारमा तयार गरिनुपर्नेमा जोड दिँदै केसीले अन्यथा बहुमत र अल्पमतको बेग्लाबेग्लै दस्तावेज प्रस्तुत हुन सक्ने चेतावनी पनि देउवालाई दिनुभएको छ।

नेपाली कांग्रेसका नेता गुरु बरालले बैठक आगामी मंगलबारसम्म लम्बिने बताउनुभयो। उहाँले भन्नुभयो– ‘निर्वाचनमा पार्टीको हारको जिम्मेवारी सभापति देउवाले लिनुपर्छ।’ केन्द्रीय समितिको बैठकले महासमितिको बैठक आह्वान गर्ने, विधान संशोधन समिति गठन गर्ने र जिल्ला सभापतिको भेला बोलाउने निर्णय लिने बताउनुभयो। उहाँले भन्नुभयो– ‘पार्टी अब परम्परागत सोच र शैलीले चल्न सक्दैन।’