अस्ताए खुमबहादुर



प्रशान्त वली, काठमाडौं
नेपाली कांग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्काको शुक्रबार बेलुकी उपचारको क्रममा भारतको नयाँदिल्लीमा निधन भएको छ। दाङ सतबरीया गोझेनाका खड्काको भारत दिल्लीस्थित एपोलो अस्पतालमा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

नेता खड्का मृगौला, छाती र नसा रोगको समस्याबाट पीडित हुनुहुन्थ्यो। कांग्रेसले उहाँको स्वास्थ्य स्थिति गम्भीर भएपछि अवस्था बुझ्न मंगलबार कांग्रेस केन्द्रीय सदस्यद्वय शंकर भण्डारी र रमेश लेखकलाई भारत पठाइएको थियो।

फागुन ४ गते राति हृदयाघात भएपछि काठमाडौंस्थित नर्भिक अस्पतालमा भर्ना हुनुभएका खड्कालाई गत फागुन ६ गते उपचारका लागि भारतको दिल्लीस्थित एपोलो अस्पताल लगिएको थियो। शुरूमा अवस्था सामान्य रहे पनि विस्तारै छाती र टाउकोमा समस्या देखिएको थियो भने मृगौलाले काम गर्न छाडेको थियो।

खड्काको दुई वर्षअघि एपोलोमै मृगौला प्रत्यारोपण गरिएको थियो। खड्काको पार्थिव शरीरलाई भारतबाट आज शनिबार काठमाडौं ल्याइने भतिज प्रताप खड्काले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो। उहाँले भन्नुभयो– ‘आज तीन बजेसम्म पार्थिव शरीर आइपुग्छ होला। त्यसपछि दाहसंस्कार काठमाडौं या दाङ कहाँ गर्ने टुंगो लाग्छ। पार्टीको सल्लाहअनुसार अघि बढ्छौं।’

को हुन् खड्का

२००८ साल जेठ १२ गते दाङको घोराही उपमहानगरपालिका धर्नामा जन्मिनुभएका खड्का पाँच भाइमध्ये काइँला हुनुहुन्थ्यो। बुबा टेकबहादुर खड्का र आमा चन्द्रकला खड्काको कोखबाट जन्मिएका खुमबहादुर बुबाको प्रेरणाले राजनीतिक यात्रामा होमिनुभएको सहपाठी विनोद पोख्रेलले बताउनुभयो।
उहाँले भन्नुभयो– ‘विद्यार्थी कालदेखि नै खड्का राजनीतिमा लाग्नुभएको हो। पञ्चायत व्यवस्थाका विरुद्ध र प्रजातन्त्र सुदृढ हुनुपर्छ भन्ने आन्दोलनका क्रममा उहाँको वनारसमा बीपी कोइरालासँग भेट भएपछि सम्बन्ध झन् नजिकियो।’ राजनीतिकर्मीका रूपमा परिचित खड्का दृढ विचार र कार्यकर्तालाई संरक्षण गर्ने राम्रो खुबी भएको नेताका रूपमा चिनिनुहुन्छ।

खड्काका एक छोरा र एक छोरी हुनुहुन्छ। २८ वर्षको उमेरमा नेपाली कांग्रेसको केन्द्रीय सदस्य बन्नुभएका खड्का पटकपटक जेल पर्नुभएको बताइएको छ। नेपाली कांग्रेसको राजनीतिमा विद्यार्थी कालदेखि नै सक्रिय रहनुभएका स्व. खड्का विसं २०३३ साल पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर बीपी कोइरालासँगै नेपाल फर्कनुभएको कांग्रेसले बताएको छ।

२०४८ सालमा भएको आम निर्वाचनमा खड्काले राप्तीको कांग्रेस कमान्ड सम्हाल्नुभएको थियो।
२०४८ सालमा खड्का पहिलोपटक भौतिक निर्माण तथा यातायातमन्त्री हुनुभयो भने २०५२ सालमा गृहमन्त्रीका रूपमा जिम्मेवारी सम्हाल्नुभयो। २०५९ सालमा भ्रष्टाचार मुद्दा लागेको थियो। गएको महाधिवेशनमा खड्का अत्यधिक मत ल्याई केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको थियो।

प्रतिक्रिया दिनुहोस्