धरहरा पुनर्निर्माणको फेरि चर्चा शुरू



ईश्वरराज ढकाल, काठमाडौं
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले धरहरा पुनर्निर्माणको गृहकार्य शुरू गरेको छ। यसै विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पुनः जानकारी गराउने तयारी गरेको हो। उहाँले अघिल्लो कार्यकालमा भूकम्पले ध्वस्त बनाएको धरहरा पुनर्निर्माणका लागि २०७२ साल फागुन ४ गते ‘म बनाउँछु मेरो धरहरा’ अभियान आरम्भ गर्नुभएको थियो।

प्रधानमन्त्री ओलीले पुनः चासो लिएपछि प्राधिकरणले यस्तो तत्परता देखाएको बताइन्छ। यसैक्रममा तीन प्रकारको माटो परीक्षण गर्न पुरातत्त्व विभागलाई पत्र पठाइएको र माटो परीक्षणको प्रतिवेदन आएलगत्तै टेन्डर आह्वान गरिने प्राधिकरण स्रोतले जनाएको छ। ओली पुनः प्रम बन्नासाथ प्राधिकरणले धरहरा बनाउनेबारे विज्ञसँग सल्लाह लिई माटो परीक्षण गर्न पठाएको थियो।

प्राधिकरणका प्रवक्ता यमलाल भुसालले करिब ४ अर्ब रुपियाँको लागतमा दुई वर्षभित्र सक्ने गरी पुनर्निर्माण गर्न लागिएको जानकारी दिनुभयो। अघिल्लो कार्यकालमा प्रधानमन्त्री ओलीले यस अभियानका लागि एक महिनाको तलब सहयोग गर्नुभएको थियो। त्यसलगत्तै गैरआवासीय नेपाली संघ (एनआरएनए)ले राष्ट्रिय वाणिज्य बैंकमा खाता खोलेको थियो। स्वदेश तथा विदेशमा रहेका विभिन्न निकायले करिब ९ करोड रुपियाँ सहयोग गरिसकेका छन्।

नेपाली सेनाले मात्र ६ करोड रुपियाँ सहयोग गरेको थियो। नेपाल टेलिकमले करिब ६ अर्ब रुपियाँ लागतमा निर्माण गर्ने जनाए पनि उसले हात झिकेपछि प्राधिकरण आफैले धरहरा बनाउने निर्णय गरेको थियो। पुरातत्त्व विभागका महानिर्देशक भेषनारायण दाहालले धरहराको ड्रइङ र डिजाइन तयार भइसकेको बताउनुभयो।

प्राधिकरणका पुरातत्त्व अधिकृत भीष्म बाँस्कोटाले पनि पुनर्निर्माण प्रक्रिया शुरू गरिएको जानकारी दिनुभयो। प्राधिकरणले हाल धरहराको ठुटो रहेको पुरानै स्थानमा धरहरा बनाउने तयारी गरेको छ। टक्सार विभागबाहेकको क्षेत्रफल ओगटेर करिब २१ रोपनी क्षेत्रफलमा निर्माण गर्न लािगएको प्राधिकरणका सहसचिव मानन्धरको भनाइ छ।

पुनर्निर्मित धरहराको उचाइ २ सय ४५ फिट हुनेछ। भित्र २ सय १३ र बाहिर २५ वटा सिँढी रहनेछन्। अपाङ्ग र वृद्धवृद्धाका लागि डबल लिफ्ट निर्माण हुनेछ। बाहिरबाट हेर्दा पहिलाको जस्तै बनाइनेछ। डिजाइनमा कुनै परिवर्तन गरिनेछैन। मन्त्रिपरिषद्को २०७२ असार ३१ गते बसेको बैठकले टक्सार र हुलाकको जग्गा उपलब्ध गराउने निर्णय गरेको थियो। राष्ट्र बैंकले टक्सार विभागको जग्गा उपलब्ध गराउन नसक्ने जनाएपछि वैदेशिक हुलाक र धरहराको जग्गामा मात्र धरहरा निर्माण गर्न लागिएको हो।

नेपालका पहिलो प्रधानमन्त्री भीमसेन थापाले विसं १८८२ सालमा महारानी ललित त्रिपुरासुन्दरीको सम्झनामा निर्माण गरेका धरहरालाई भीमसेन स्तम्भ पनि भनिन्थ्यो। थापाले शुरूमा ११ तले धरहरा बनाएकोमा १९९० सालको भूकम्पमा भत्किएपछि जुद्धशमशेरले एक वर्ष लगाएर पुनर्निर्माण गरी ९ तलाको बनाएका थिए।

प्रतिक्रिया दिनुहोस्