लोकतन्त्र नारामै सीमितः राष्ट्रपति



गंगा बराल, काठमाडौं
राष्ट्रपति विद्यादेवी भण्डारीले जनताको जीवनस्तरमा सुधार नआए लोकतन्त्र नारामा मात्रै सीमित हुने बताउनुभएको छ। संघीय संसद्लाई बिहीबार संसद् भवनमा सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले सबै तहको निर्वाचनपछि देश समृद्धिको बाटोमा अघि बढेको र जनताको विकासको चाहना पूरा हुने दाबी गर्नुभएको छ।

‘जनचाहना र आवश्यकतालाई पूरा गर्न वर्तमान जनप्रतिनिधिले सक्नुहुन्छ भन्ने अपेक्षा गरेको छु।’ –राष्ट्रपतिले सम्बोधनका क्रममा बताउनुभयो। राष्ट्रपति भण्डारीले नेपालको विकास र प्रगतिलाई कुनै पनि बहानाबाजी गरेर पछाडि धकेल्न नहुने बताउनुभयो। ठूलो संख्यामा युवाहरू बिदेसिएकोमा चिन्ता व्यक्त गर्दै उहाँले युवाको सीपलाई नेपालमै प्रयोग गर्न सरकारले कदम चाल्नुपर्ने बताउनुभयो।
समतामूलक समाजको निर्माण र समाजवाद उन्मुख लोकतन्त्र स्थापना गर्न सबैले आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्ने उहाँको भनाइ थियो।

संविधानले हाम्रो बाटो निर्दिष्ट गरिसकेकाले सबैको लागि समान अवसर प्राप्त हुनेमा विश्वास लिएको बताउँदै राष्ट्रपतिले भन्नुभयो– ‘लोकतन्त्रको लक्ष्य स्थापित गर्न विकास र सामाजिक एकताको आवश्यकता रहेको छ।’
अग्रजले देशको विकासका लागि जीवन उत्सर्ग गरेको उल्लेख गर्दै उहाँले त्यो सपना पूरा गर्ने बेला भइसकेको बताउनुभयो। उहाँले नेपाली समाजको भौगोलिक, सांस्कृतिक वा जातीय विविधतायुक्त सामाजिक वास्तविकता पनि संघीय संसद्मा प्रतिबिम्बित भएको बताउनुभयो।

‘अबको नेपाल कुनै पनि किसिमको मनोमालिन्य, अशान्ति, दमन, भ्रष्टाचार र उत्पीडनबाट मुक्त हुनुपर्छ। इतिहासले वर्तमान पिँढीलाई हाम्रो समाजको समग्र रूपान्तरण गर्ने दायित्व सुम्पिएकाले त्यसतर्फ ध्यान दिन पनि राष्ट्रपति भण्डारीले आग्रह गर्नुभयो।

सम्बोधनअघि प्रधानमन्त्री ओलीले सम्बोधनको एकप्रति राष्ट्रपतिसमक्ष पेस गर्नुभएको थियो। संसद् भवन नयाँ बानेश्वर झण्डा, ध्वजाले सिंगारिएको थियो। स्टेजमा ४ वटा कुर्सी राखिएका थिए। राष्ट्रपतिको अलि पर उपराष्ट्रपति नन्दबहादुर पुनः, छेउमै सभामुख कृष्णबहादुर महरा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना हुनुहुन्थ्यो।

राष्ट्रपति ठीक ४ बजे संसद् भवन आइपुग्नुभएको थियो। राष्ट्रपतिलाई सबैभन्दा पहिले सभामुख महराले त्यसपछि राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाले, प्रधानमन्त्री ओलीले, संघीय संसद्का महासचिव मनोहरप्रसाद भट्टराईका साथै मन्त्रीहरूले स्वागत गर्नुभएको थियो। राष्ट्रपतिभन्दा ३५ मिनेटअघि उपराष्ट्रपति पुन संसद् भवन पुग्नुभएको थियो।

प्रतिनिधिसभा र राष्ट्रियसभाको अन्तरिम कार्यविधिको दफा २९ मा ‘राष्ट्रपतिबाट सम्बोधन’ गर्ने व्यवस्था छ। कार्यविधिमा राष्ट्रपतिले संविधानको धारा ९५ बमोजिम संघीय संसद्को बैठकलाई सम्बोधन गर्ने उल्लेख गरिएको छ।

संविधानको धारा ९५ को (१) मा भनिएको छ ‘राष्ट्रपतिले संघीय संसद्को कुनै सदनको बैठक वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न र त्यसका लागि सदस्यको उपस्थित हुन आह्वान गर्न सक्ने उल्लेख छ।’ संघीय संसद्को निर्वाचन भएपछि राष्ट्रपतिले पहिलोपटक संघीय संसद्लाई सम्बोधन गर्नुभएको हो।

प्रतिक्रिया दिनुहोस्