प्रहरी र ई–रिक्सा चालकबीच झडप

0
Shares

जनकपुर । कम भाडादर निर्धारण गरेको भन्दै जनकपुरका ई–रिक्सा सञ्चालकहरु आन्दोलित भएका छन् । भाडादरको विरोधमा ई–रिक्सा सञ्चालकहरुले जुलुस निकाल्न खोजेपछि बिहीबार पटक–पटक प्रहरी र ई–रिक्सा सञ्चालकबीच तनाव उत्पन्न भएको हो । सो क्रममा प्रहरीले दुई पटक ई–रिक्सा सञ्चालकहरुमाथि सामान्य लाठी चार्ज समेत गरेको छ ।

विरोधमा नगरभित्र जुलुस निकाल्न जनकपुरको बाह्रविघा मैदानमा सयौंको संख्यामा अटो ई–रिक्सा सञ्चालकहरु रिक्सासहित भेला भएका थिए । उनीहरुलाई जुलुस गर्न नदिन दर्जनौंको संख्यामा प्रहरी परिचालन गरिएको थियो । महंगीको समयमा यातायात व्यवस्थापन समितिले तोकेको भाडादर कम भएको र त्यसको कमाईले आफुहरुको घरपरिवार खर्च धान्न समेत मुस्किल हुने ई–रिक्सा सञ्चालकहरुको गुनासो छ । उनीहरुले भाडादर परिमार्जनको माग गरेका छन् ।

नेपाल स्वतन्त्र अटो ई–रिक्सा मजदुर संघका पुर्वअध्यक्ष मनोज झाले जनकपुर उपमहानगरपालिका बाहेक देशका अन्य ७६ वटा जिल्लामा ई–रिक्साहरु व्यवस्थित रुपमा सञ्चालन भइरहेको बताउँदै जनकपुर उपमहानगरपालिकाले व्यवस्थापन नै नगरी पटक–पटक रिक्सा सञ्चालकहरुलाई झट्का दिंदै आएको गुनासो गर्नु भएको छ । उहाँले भन्नुभयो,‘दररेट निर्धारण गर्ने अधिकार उपमहानगरपालिकाको रहेपनि ट्राफिकले जबरजस्ती दररेट निर्धारण गरेको हो । रोड नभई तोकिएको रेट आफुहरुलाई मान्य नरहेको उहाँले बताउनु भयो ।

नेपाल स्वतन्त्र अटो ई–रिक्सा मजदुर संघका अध्यक्ष शंकर ठाकुरमाथि आक्रोशित हुँदै पुर्व अध्यक्ष झाले जनकपुर उपमहानगरपालिका भित्र सञ्चालित १७ सय ई–रिक्सा सञ्चालक मध्ये ठाकुर मात्र ४० जनाका लागि अध्यक्ष रहेको आरोप लगाउनुभयो । उहाँले वर्तमान अध्यक्ष ठाकुरले आफुहरुसँग कुनै सल्लाह नै नगरी आफुखुशी रेट निर्धारण गर्ने सम्झौतामा हस्ताक्षर गरेको गुनासो गर्नु भएको छ । ३ दिन भित्र आफुहरुको माग सम्बोधन नगरिए चक्का जाम,उपमहानगरपालिकाको कार्यालय र ट्राफिक प्रहरी कार्यालयको अगाडी धर्ना दिने लगायतका संघर्षका कार्यक्रमहरु गर्ने चेतावनी समेत झाले दिनु भएको छ ।

यता,मनोमानी ढंगले ई–रिक्सा चालकहरुले यात्रुसंग भाडा असुल गरिरहेको गुनासो आउन थालेपछि ट्राफिक कार्यालय धनुषाले मूल्यदर निर्धारण गरेको हो । ई–रिक्साको भाडामा एकरुपता ल्याउनका लागि भाडादर कायम गरिएको ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख हरिनन्दन चौधरीले बताउनु भयो ।