धनवीर दाहाल, रुकुम पुर्व । प्राय जसो बिद्यालय व्यवस्थापन समितीका अध्यक्ष नियमित बिद्यालय गएर बिद्यालय र बिद्यार्थीको हेरचाह गर्ने गरेको बिरलै भेटिन्छन् । अध्यक्ष भइसकेपछि महिनामा या दुई महिनामा बैठक बस्दा मात्र बिद्यालय जाने गर्दछन् ।
प्रधानाध्यापकले नै बिद्यालयको प्रशासन चलाइरहेका हुन्छन् । तर रुकुम पुर्वको एक बिद्यालयमा भने हरेक दिन शिक्षक जस्तै गरी बिद्यालय व्यवस्थापन समितीका अध्यक्ष बिद्यालय धाउने गर्छन् । रुक्मणी उच्च माध्यामिक बिद्यालय व्यवस्थापन समितीका अध्यक्ष केशवचन्द्र समाल बिद्यालयमा गएर बिद्यार्थी शिक्षक र बिद्यालयको अन्य अवस्थाको निगरानी गर्दछन् ।
उनलाई बिद्यालयमा अभिभावक र बिद्यार्थीले अत्यधिक रुचाउँदछन् । त्यति मात्र होइन बिद्यालयमा अन्य बिव्यस सदस्यहरु पनि नियमित पालो लगाएर जानुपर्ने नियम उनले बनाएका छन् । सिस्ने गाँउपालिका रुकुमकोटमा जन्मिएका युवा अध्यक्ष केशवचन्द्र समाल पेशाले समाजसेवी, संघसंस्थामा काम गर्ने व्यक्ति हुन् ।
उनका बुबा लोकेन्द्रबहादुर शाह पूर्व जिविस सभापति हुन् । बुबा राजनीतिमार्फत समाज सेवामा लागेपछि छोरा पनि राप्रपा समर्थित नै छन् । तर, विद्यालयको चुनावमा भने राजनीतिको कुनै प्रवाह नगरी अधिकांश अभिभावकहरुले समाललाई बनाएका छन् । राजनितिक आस्था एक ठाँउमा भएपनि अभिभावकको चाहना अनुसार उनलाई बिद्यालयको जिम्मा सुम्पीएका छन् । विद्यालयमा युवा अध्यक्ष बनाउनु रुकुमकोटबासीको सपना थियो ।
कुनै दल सम्बद्ध भन्दा पनि व्यक्ति विशेष र व्यक्तिले विद्यालयमा काम गरेर देखाउने तत्परता देखेर नै निर्वाचित गरिएको रुकुमकोटबासी बताउँछन् । रुकुमकोटस्थित पुराना शिक्षक शेरबहादुर मल्लका अनुसार अब गाउँगाउँमा पनि पार्टी भन्दा पनि कसले काम गर्छ भन्ने कुरालाई हेर्न थालेको बताए ।
अध्यक्ष समालले अभिभावक, विद्यालय परिवार र विद्यार्थीले सोचेको जस्तै विद्यालयलाई एउटै कार्यकालमा माथि उठाउन सफल भएका छन् । उनी अध्यक्ष भएदेखि विद्यालयको भौतिक पूर्वाधार, शिक्षण सिकाई प्रक्रिया, अभिभावक सम्बन्ध, विद्यालय सुधार एवं विद्यार्थी सिर्जनशिलता लगायतका कुराहरुमा व्यापक परिवर्तन भएको छ । केशवचन्द्र अध्यक्ष भएदेखि विद्यालयको शिक्षण सिकाई क्रियाकलापमा धेरै सुधार भएको छ ।
पहिले विद्यार्थी, शिक्षक र अभिभावकहरुमा गैरजिम्मेवार व्यवहारहरु हुने गरेकोमा अहिले पुरौ परिवर्तन भएको छ । विद्यार्थी, शिक्षक र अभिभावहरु पनि जिम्मेवार बन्दै शिक्षण सिकाईमा पूर्ण रुपमा साथ दिएका छन् । विद्यालयको समग्र परिवर्तन ल्याउन अहिले विद्यालय आचारसंहिता बनाइएको छ । विद्यार्थी, शिक्षक र अभिभावहरुलाई मान्य हुने गरी आचारसंहिता बनाइएको छ । शिक्षकहरुले पनि नियमित पढाउनुपर्ने, शिक्षण समयमा मोवाइल खेलाउन नपाइने, बाहिरी पोसाकमा आउन नपाइने, समयमै स्कुलमा आउनुपर्ने जस्ता साझा नियमहरु बनाइएका छन ।
पछिल्लो पटक सबै विद्यार्र्थीहरु र शिक्षकहरु नियमित विद्यालय आउने र पढाई लेखाईमा पनि ध्यान दिने गरेको पाइएको छ । त्यतिमात्र नभएर अहिले विद्यालयको भौतिक पूर्वाधारमा पनि वृद्धि भएको छ । त्यतिमात्र नभएर रुक्मिणी उच्च माविको प्रगतिका लागि फिल्ड निर्माण, भवन निर्माण र भौतिक पूर्वाधार निर्माणका निम्ति मन्त्रालय, विभाग र सरकारलाई पटक–पटक हारगुहार गरी विभिन्न योजनाहरु पनि पार्न सफल हुनुभएको छ ।
त्यस्तै अध्यक्ष भएदेखि उक्त विद्यालयमा कृषि जेटिए पढाई सञ्चालन गरिएको छ, भने कक्षा ९ देखि पनि कृषि प्राविधिक विषयको पनि पढाई संचालन गरिएको छ । विद्यालयमा फोन सुविधान हुनुका साथै ईमेल ईन्टरनेट पनि जोडिएको छ । विद्यार्र्थीहरुलाई हरेक प्रकारका सेवा र अनुसन्धानमा सञ्चार सामग्रीहरुको प्रयोग गर्ने गरेका छन् ।
यसै गरी अध्यक्ष बिद्यालय बाहिर जानु पर्ने अवस्था आएमा बिद्यालयको गतिबिधि नियाल्नका लागी सिसि क्यामरा समेत जडान गरिएको छ । आफु जुनसुकै ठाँउमा भएपनि बिद्यालयको अवस्थाबारे नियमित जानकारी भएको अध्यक्ष समालले बताए ।











प्रतिक्रिया