छोराको खोजीमा भौतारिदै आमा



कालीवहादुर मल्ल, कालिकोट ।

कालिकोट हुँदै जुम्लातिर गएका डोल्पा मुड्केचुला गाउँपालिकाका ओक्त गाउँका २५ वर्षीया मुनबहादुर बोहरा हराएका छन । ७ महिनाभन्दा पनि बेखबर भएपछि बोहराका ६० वर्षिया आमा छोरा खोज्दै भौतारिदै जुम्ला पुगेकी छन् । गत भदौ १५ गते कालिकोटबाट जुम्लातिर जादै गर्दा बाटोमा हराएका बोहराको अहिलेसम्म अत्तोपत्तो नभएपछि ६० वर्षीय आमा मनिषा बोहरा छोरा खोज्दै जुम्ला आइपुगेकी हुन् ।

बोहरा छोरा खोज्दै डोल्पादेखि जुम्लासम्म हिँडेरै जुम्ला आइपुगेकी हुन् ।
छोरा खोज्न जुम्ला गोठिचौर गाउँपालिकाको गाउँ–गाउँ धाइरहकी ६० वर्षीय मनिषालाई स्थानीय शिक्षकहरु रामबहादुर रावल र जंगबहादुर बुढाले जिल्ला प्रहरी कार्यालय जुम्लामा पु¥याइदिएका छन् ।

छोरा हराएको ७ महिना नाघिसक्दा पनि घर नफर्केकाले आफू मरे पनि छोरा भेटाउछु कि भन्ने आशामा घरबाट हिँडेको मनिषा बोहराले बताइन् । ‘जुम्ला र डोल्पाको बीचमा रहेको हिँउले भरिएका ठूला पहाडहरु काटेर छोरा खोज्दै जुम्ला आएकी हुँ ।’ उनले भनिन्,‘हिँउले आफ्नो ज्यान जोखिममा पार्ने डर भए पनि छोरा पाउने आशमा आफूले डरलाई जितेर यहाँ आएकी हुँ ।’

गत भदौंमा जिल्ला प्रहरी कार्यालय कालिकोटले तपाईको छोरालाई मानसिक समस्या भएको छ भनेर फोन गरेको मनिषाले बताइन् ।

हराएका बोहरालाई खोजिदिन भन्दै जिल्ला प्रहरी कार्यालय जुम्लामा उनका ज्वाई राजबहादुर शाहीले गएको भदौ २० गते कालिकोटको बालिघाटबाट जुम्ला आउने क्रममा हराएको भन्दै जाहेरी दर्ता गराएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जानकारी दिएको छ ।

छोरा खोज्न मुगु , हुम्ला र डोल्पा जिल्ला सबै ठाउँमा खोजेर आइसकेको र छोरा खोज्न अहिले जुम्ला आएको मनिषाले बताइन् ।

मुनबहादुर बोहराका ३ छोरी, आमा र श्रीमती रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्