म्याग्दी । बेनी–जोमसोम सडक शुक्रबारदेखि दैनिक आठघण्टा बन्द हुने भएको छ । सडक स्तरोन्नतीका लागि बन्द गर्न लागिएको हो । राष्ट्रिय महत्वको कालीगण्डकी करिडोर सडकअन्तर्गत पर्ने ७६ किलोमिटर बेनी–जोमसोम सडक छ महिनादेखि विभिन्न चार खण्डमा निर्माण कार्य भइरहेको छ ।
मुक्तिनाथ र दामोदरकुण्डको दर्शन, कागबेनीमा स्नान तथा मुस्ताङको प्राकृतिक सुन्दरतामा रमाउन स्वदेशी तथा विदेशी पर्यटकको चापका कारण निर्माणपक्ष र यात्रु दुवैलाई समस्या हुने भएपछि शुक्रबारदेखि आठ घण्टा सडक पूर्णरुपमा बन्द गर्ने निर्णय गरिएको कालीगण्डकी करिडोर सडक आयोजना मुस्ताङ प्रमुख नरेन्द्र सुवेदीले जानकारी दिनुभयो ।
‘चैत महिना लागेदेखि पर्यटकको चाप पनि निकै बढेको छ । यसलाई निर्माण कार्य पनि प्रभावित भएको छ भने यात्रु पनि समयमै गन्तव्य पुग्न सकेका छैनन्’ उहाँले भन्नुभयो, ‘निश्चित समय तोकिएपछि निर्माण कार्य र यात्रु पनि सोहीअनुसार यात्रा गर्छन् ।’
आयोजनाका अनुसार, बेनी–जोमसोम सडकखण्डमा गलेश्वरदेखि भुरुङ–तातोपानीसम्म शर्मा युनाइटेड जेभी, तातोपानीबाट मुस्ताङको कोबाङसम्म शर्मा गजुरमुखी जेभी र कोबाङदेखि जोमसोमसम्म कोशी कन्ट्रक्शनले काम गरिरहेको छ ।
गजुरमुखीले दुईखण्ड गरी सबैभन्दा बढी ३७ किलोमिटर सडक स्तरोन्नतिको जिम्मा लिएको छ । ‘यो अवधिमा गलेश्वरदेखि घाँसासम्म पूर्णरुपमा सवारीसाधन सञ्चालनमा रोक लगाउने छौँ । तर घाँसादेखि माथि वैकल्पिक मार्ग पनि रहेका कारण केही खुल्ला गर्नेछौं ।’ प्रमुख सुवेदीले भन्नुभयो ‘आउँदो वर्षासम्म गलेश्वर–घाँसासम्मको कार्य सम्पन्न गर्न पनि हामीले यस्तो निर्णय गरेका हौं ।’
मुस्ताङ खण्डमा वर्षाको समयमा पनि कम पानी पर्ने भएकाले आयोजनाले म्याग्दी खण्डमा पर्ने करिब ४२ किलोमिटर सडकको निर्माण कार्यलाई तीव्रता दिइएको जनाएको छ । म्याग्दीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले राष्ट्रिय प्राथमिकताको सडकलाई तोकिएकै मितिमा सम्पन्न गर्न सडक बन्द गर्ने निर्णय गरिएको बताउनुभयो ।
चीन र भारतलाई जोड्ने बेनी–जोमसोम–कोरला सडकअन्तर्गत जोमसोमदेखि कोरलासम्म ९३ किलोमिटर सडकमा पनि थप प्याकेज बनाएर काम गर्ने तयारी भइरहेको छ ।











प्रतिक्रिया