ट्रेलरमा आयो कोहलपुर एक्सप्रेस

0
Shares

नायिका केकी अधिकारीले राजधानीमा अयाोजित एक समारोहबीच आफ्नो प्रस्तुतिमा निर्मित पहिलो फिल्म कोहलपुर एक्सप्रेसको ट्रेलर सार्वजनिक गरेकी छिन्।

फिल्मको ट्रेलर हेर्दा फिल्म कमेडी बेसमा रहेको प्रस्ट हुन्छ। यसको ट्रेलरमा अभिनेता रवीन्द्र झालाई धेरै देखिन्छ भने ट्रेलर हेर्दा फिल्म पैसाको झेलमा केन्द्रित रहेको पाइन्छ। ‘मेरो फिल्मले कसैलाई केही सिकाउँदैन, पाठ पढाउँदैन’, कार्यक्रममा फिल्मका निर्देशक विशाल भण्डारीले भने– ‘केवल १ घण्टा ५५ मिनेट पूर्णरूपमा हसाउँछ।’ विशालले पहिलोपटक फिल्म निर्देशन गरेका हुन्। यसअघि उनले दर्जनौं म्युजिक भिडियो निर्देशन गरेका थिए। त्यसैको अनुभव सँगालेर उनी फिल्म निर्देशनमा आएका हुन्।

त्यस्तै नायिका केकी अधिकारीले फिल्म निर्माणको अनुभव शेयर गर्दै फिल्ममा अभिनय गर्नभन्दा बनाउन कठिन भएको बताइन्। ‘करिब एक दशकदेखि यही क्षेत्रमा छु। त्यसैले फिल्म निर्माण गर्न गाह्रो हुन्छ जस्तो लागेको थियो। तर, निर्मात्री बन्न निकै गाह्रो हुँदो रहेछ’, कार्यक्रममा केकीले सुनाइन्– ‘फिल्म निर्माण गर्दा अर्कै फिल्डमा हात हालेझैं भयो।’

अर्की नायिका प्रियंका कार्कीले फिल्म आफ्नो वरिपरि घुम्ने खुलासा गरिन्। फिल्ममा नायिका ऋचा शर्माले मोडल तिर्सना बुढाथोकीको हाउभाउ नक्कल गर्ने कोशिस गरेकी छिन्। ‘तिर्सना बुढाथोकी बनेको होइन। तर, दुई दिन मैले उहाँको भिडियो चाहिँ हेरेकी थिएँ। धेरथोर उहाँको हाउभाउबाट प्रभावित पात्र चाहिँ हो।’ –फिल्ममा बार गर्लको रूपमा देखिने ऋचाले भनिन्।

आगामी वैशाख १४ गते अल नेपाल रिलिज हुने फिल्म विशाल भण्डारीको कथा र निर्देशनमा बनेको हो। केकीको फिल्म निर्माण कम्पनी जुनकिरी आर्टस्को ब्यानरमा भंगबहादुर शाही, देवीलाल न्यौपाने र शिवप्रसाद चौलागाईंको निर्माणमा बनेको फिल्ममा केकी अधिकारी, प्रियंका कार्की, ऋचा शर्मा, विनोद न्यौपाने, रवीन्द्र झा, बुद्धि तामाङ, बालकलाकार कुशाग्र भट्टराईलगायतका कलाकारले प्रमुख भूमिकामा अभिनय गरेका छन्।फिल्ममा विशाल भण्डारीको कथा, सान बस्न्यातको पटकथा र संवाद, कालिप्रसाद बाँस्कोटा, अर्जुन पोखरेल र राजनराज शिवाकोटीको संगीत, अर्जुन तिवारीको छायांकन र लोकेश वज्राचार्यको सम्पादन रहेको छ।यो फिल्मको सीओडब्ल्यू काउ बोलको गीत लोकप्रिय छ।