नेपाल समाचारपत्र
काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीको विदेश भ्रमणको तयारी भइरहेको चर्चा चलिरहेका बेला स्वयं प्रधानमन्त्री ओलीले आफ्नो पहिलो औपचारिक विदेश भ्रमण भारतमा हुने बताउनुभएको छ।
आफनो भ्रमणको मिति नखुलाइकन उहाँले भन्नुभयो– ‘नेपालको पहिलो प्राथमिकता भनेको दुवै छिमेकीसँगको सम्बन्ध सुदृढ गर्नु हो, त्यसैका लागि म भारत जाँदै छु।’ नेपाल–चीन सम्बन्धबारे लेखिएको पुस्तक ‘नेपाल–चाइना रिलेसन ः न्यु एभिन्यु एन्ड पोसिविलिटिज’ विमोचन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो।
युरोपियन युनियन (ईयू) को नाम नलिइकन उहाँले भन्नुभयो– ‘जो–जससँग सम्बन्ध छ, उहाँहरूले बुझ्न जरुरी छ, नेपालका दुई छिमेकी राष्ट्र भारत र चीन अभिन्न मित्र हुन्, यही क्रममा म भारत भ्रमणमा जाँदै छु।’ ईयूको निर्वाचन पर्यवेक्षण प्रतिवेदनप्रति लक्षित गर्दै प्रधानमन्त्री ओलीले नेपालको सामाजिक सद्भावमा दखल पुर्याउने काम नगर्न चेतावनी दिनुभयो।
सोमबार दिउँसो बालुवाटरमा आयोजित कार्यक्रममा उहाँले समृद्ध नेपालको अभियानका लागि चीनको सहयोगको आवश्यकता रहेको उल्लेख गर्दै चिनियाँ सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो। सो कार्यक्रममा नेपालका लागि चिनियाँ, जापानी, श्रीलंकालगायतका मुलुक राजदूतसमेत उपस्थित हुनुहुन्थ्यो। ओलीले विमोचन गरेको पुस्तक कूटनीतिक मामिलाका जानकार विभिन्न २५ जना व्यक्तिले लेखेको लेखको संग्रह हो। अन्तर्राष्ट्रिय सरोकार केन्द्रकी अध्यक्ष डा. अञ्जान शाक्य र केन्द्रका बोर्ड सदस्य माधवजी श्रेष्ठले सो पुस्तक सम्पादन गर्नुभएको छ।











प्रतिक्रिया