प्रचण्ड प्रधानमन्त्री हुने बितिकै मैले हाम्रो सभापति शेरबहादुर देउवालाई भनेको थिएँ– ‘पार्टी त कब्जा गर्नुभयो तर देश कम्युनिस्टले कब्जा गर्छ। आज हामी त्यही बिन्दुमा आइपुगेका छौं।’
पार्टी सभापतिज्यू सायद स्थानीय निर्वाचनपछि चितवन जानुभएको छैन होला। यदि गएको भए पनि कार्यकर्तालाई भेट्नुभएको छैन होला। महामन्त्रीजी धेरैपटक जानुभयो तर कार्याकर्तासँग राम्ररी संवाद भएको छैन होला। चितवनका कार्याकर्ताले हामीलाई सोध्न थालेका छन्– ‘एकपटक हँसिया हथौडामा भोट हाल्न भन्नुभयो, अर्कोपटक हलोमा। अब आउने निर्वाचनमा हामीले केमा भोट हाल्ने?’ सभापतिजी हामीले कार्यकतालाई के जवाफ दिने?
जुन पार्टीभित्र आजसम्म पनि कम्युनिस्टहरूसँगको सहकार्यको परिणामले देश र जनतालाई हित गर्यो कि गरेन भन्ने बहस छ। त्यही पार्टीको केन्द्रीय सभापतिले माओवादीको आमसभामा गएर हँसिया हथौडामा भोट माग्दा अन्य ठाउँमा माओवादीसँगै प्रतिस्पर्धा गरिरहेका कांग्रेसका उम्मेदवारहरूको मनोबल कहाँ पुग्यो होला?
नेपाली कांग्रेस, जुन पार्टीले सबै क्रान्तिको नेतृत्व गर्यो, जसले सबै प्रकारका निरकुंशतालाई परास्त गर्यो, गणतन्त्र ल्यायो, संविधानसभाबाट संविधान जारी गर्यो, २० वर्षसम्म हुन नसकेको स्थानीय तहको निर्वाचन सम्पन्न गर्यो तर पनि आज नेपाली कांग्रेस इतिहासमै कमजोर भएको छ यसको कारण खोजिन जरुरी छ।
कम्युनिस्टहरूका प्रचण्ड बहुमतको नेतृत्व गरेका ओली सरकारका प्रारम्भिक क्रियाकलापहरूले नै मुलुकमा अधिनायकवाद निम्त्याउने संकेत देखिइसकेको छ। यो सरकार राज्यसत्ता कब्जा गर्नेतर्फ अगाडि बढ्दै छ। न्यायपरिषद्को सचिवले प्रधानन्यायाधीशलाई बर्खास्त गर्नु अधिनायकवादको प्रवेशको पहिलो खुड्किलो हो। ओली सरकारले अब विस्तारै थाहा नपाउने तरिकाले मिडिया सेन्सरसिप लगाउँछ। त्यसपछि सुरक्षा निकाय कब्जा गर्छ। कांग्रेसले अधिनायकवादका विरुद्ध लड्न नसक्ने होइन तर अहिलेको यस्तो कांग्रेसले अधिनायकवादका विरुद्ध लड्न सक्दैन।
केन्द्र र सातवटै प्रदेशमा कांगेसको न्यून उपस्थिति छ। अझ भन्नुपर्दा सबै ठाउँमा हामीले प्रतिपक्षको हैसियत पनि गुमाएका छौं। यस्तो अवस्थामा समानुपातिक र पपुलर भोटको आधारमा हामी हारेका छैनौं भन्नु लज्जास्पद हो। नेतृत्वले हार स्वीकार गर्न सक्नुपर्छ। तब मात्र सुधार सम्भव छ। सभापतिजीको व्यक्तिवादी चरित्र, सत्ता र शक्तिलाई मात्रै सर्वेसर्वा मान्ने प्रवृत्ति छ, जसका कारण उहाँ संगठनप्रति त्यति संवेदनशील देखिनुभएको छैन। व्यक्ति हारेको हो, पार्टी हारेको होइन भनेर सभापतिजीले जुन अभिव्यक्ति दिनुभयो त्यो अत्यन्तै आपतिजनक छ।
कांग्रेसले निर्वाचनमा हार्नुका मुख्य कारण ः
नेकपा एमाले र माओवादीले एउटै घोषणापत्र र स्थिर सरकारको नारा लिएर गए। माओवादी हाम्रो सत्ता साझेदार थियो। गठबन्धन छाड्दै छ भन्ने कुराको अनुमान सभापतिजीलाई किन भएन? तर पनि सभापतिजीले माओवादीप्रति किन पूरै भरोसा गर्नुभयो?
जहाँसम्म लोकतान्त्रिक गठबन्धनको कुरा छ, किन र कसका लागि थियो लोकतान्त्रिक गठबन्धन? अमुक व्यक्तिहरूलाई जिताउन? कि कांग्रेसी कार्याकर्ताको आँखामा छारो हाल्ने काम त भएको होइन? लोकतान्त्रिक गठबन्धन केवल मधेसी मोर्चाका लागि मात्रै थियो। निर्वाचनलगत्तै मधेसी मोर्चाकै २ जना व्यक्तिलाई किन प्रदेश प्रमुख बनाउन पर्यो? नेपाली कांग्रेसमा मधेसी समुदायभित्र योग्य मान्छे थिएनन्? मधेसी समुदायलाई पार्टीबाट किन टाढा पार्न खोजिँदै छ। मधेस कांग्रेसको उर्वर भूमि हो किन यसलाई कमजोर पारिँदै छ।
प्रहरी प्रमुखको नियुक्ति प्रकरण, महाअभियोग प्रकरण अनि राजदूत नियुक्तिमा आर्थिक चलखेल पुष्टि भएरै होला सायद आशा लामाको नाम हटाइयो। यी विषयले निर्वाचनमा कांग्रेसलाई पराजयका लागि मद्दत गर्यो। पछिल्ला निर्वाचनमा पार्टी परिचालन पटक्कै भएन। अर्कोतर्फ पार्टीका भातृ एवं शुभेच्छुक संस्थाहरूको कुनै भूमिका र अस्तित्व देखिएन।
सबैभन्दा दुर्भाग्य हामीले मतदातालाई क्रियाशील सदस्य बनाएका रहेछौं। भागबन्डा र गुट उपगुटको आधारमा राम्रोलाई भन्दा हाम्रोलाई उम्मेदवार बनाइयो। स्थानीय निर्वाचन र समानुपातिकमा उम्मेदवार छनोट गर्दा आर्थिक चलखेल भयो भन्ने कुरा व्यापकरूपमा बाहिर आएको छ। जसका कारण पार्टीमा लामो समयसम्म काम गरेका इमानदार र योग्य व्यक्तिहरूलाई पाखा लगाइयो। यसैको प्रतिफल स्वरूप पार्टीको जग भत्किन पुग्यो। प्रत्यक्षतर्फ उम्मेदवार छनोट गर्दा हामीबाट पनि गल्ती र कमी–कमजोरी भएका छन् त्यसको जिम्मेवारी संसदीय बोर्डमा बस्ने सबैले लिनुपर्छ।
नाकाबन्दीलाई हामीले नाकाबन्दी भन्न सकेनौं। राष्ट्रियताको सवालमा हामीलाई भारतपरस्त बनाइयो। जब कि हामी न भारतपरस्त हांै न चीनपरस्त हांै, हामी नेपालपरस्त हौं। मेरो विषयमा कुरा गर्दा म आफ्नै कारणले हारेको हो। आफू हारेकोमा मलाई केही चिन्ता छैन। मेरो चिन्ता पार्टी हारेकोमा छ। मेरो चिन्ता निरुत्साहित कार्यकर्तालाई कसरी उत्साह भर्ने भन्नेमा छ। म एक्लो प्रतिनिधिसभा सदस्य हुँ जो ६ सय ७५ मतले हारेको छु तर प्रदेशसभाका दुवै उम्मेदवारहरूलाई क्रमशः २२ सय र ३२ सयभन्दा बढी मतले जिताएको छु।
अब के गर्ने?
क्षेत्र र जिल्लाले निर्वाचनको समीक्षा गर्दा विभेद र मनमुटाव हुन सक्छ। त्यस कारण १ सय ६५ क्षेत्रमै केन्द्रले प्रतिनिधि पठाएर शूक्ष्म ढंगले समीक्षा गरिनुपर्छ। पदाधिकारीहरू थपेर समस्या समाधान गर्ने सोच राखिएको छ भने त्यो कुनै हालतमा स्वीकार गर्न सकिँदैन। अनि टालटुले नीतिले पनि समस्या समाधान हुँदैन। २ महिनामा गर्ने काम २ वर्षसम्म पनि गर्न सक्नुभएको छैन, त्यस कारण अब पदाधिकारीको मनोनयन र विभाग गठनको कुनै अर्थ छैन्। अब यसलाई मानिँदैन। यही केन्द्रीय कार्यसमितिको बैठकबाट वैशाख महिनाभित्र महासमितिको बैठकको मिति तोकियोस्। संघीय र प्रादेशिक संरचनाअनुसार पार्टीको विधान व्यापक संशोधन गरिनुपर्छ। विधान संशोधनका लागि यही बैठकबाट समिति गठन गरियोस्। र, २०७५ चैत्र या २०७६ वैशाखभित्र पार्टीको १४औं महाधिवेशन गरिनुपर्छ।
सभापतिज्यू, यसभन्दा अगाडिका सभापतिहरू– सुशील कोइराला, गिरिजाप्रसाद कोइराला र किसुनजीले पनि प्रायः आफू निकटकालाई जिम्मेवारी र अवसर दिनुहुन्थ्यो। त्यसका लागि एउटा मापदण्ड थियो। त्यो के भने– कम्तीमा कांग्रेस हुनुपथ्र्यो। तर, अहिले तपाईंको पालामा अवसर लिन कांग्रेस नभए पनि हुने रहेछ। केवल गुट र व्यक्ति निकट भए हुने रहेछ भन्ने कुरा दूरदराजका कार्याकर्तामाझ फैलिएको छ। यसमा के भन्नुहुन्छ?
(कांग्रेस केन्द्रीय सदस्य कोइरालाले सोमबार केन्द्रीय बैठकमा राखेको धारणा)











प्रतिक्रिया