कृष्ण आचार्य, चितवन । पर्साको ठोरीवासीले प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलसँग ठोरीलाई प्रदेश ३ मा गाभ्न अनुरोध गरेका छन् ।
ठोरी नाकाको अवलोकनका लागि सोमवार यहाँ आएका मुख्यमन्त्री पौडेलसंग कुरागर्दै स्थानीयवासीले ठोरीलाई प्रदेश २ बाट प्रदेश ३ मा लैजान माग गरेका हुन् ।
तत्कालिन ठोरी गाविसका पूर्वअध्यक्ष उद्धव सापकोटाले आफूहरु प्रदेश नम्वर ३ मा गाभिन चाहेको वताए । ठोरीलाई प्रदेश ३ मा गाभ्न पटकपटक प्रयास गरिएपनि सफल नभएको उनले गुनासो गरे ।
मुख्यमन्त्री समक्ष ठोरीका जनता र जनप्रतिनिधिको भावनाको सम्मान हुनुपर्ने उनले वताए । ठोरीलाई प्रदेश नम्वर ३ मा गाभ्न जस्तोसुकै मुल्य चुकाउनपनि आफुहरु तयार रहेको सापकोटाको भनाई छ ।
ठोरीका जनताको चाहाना र भावनाको अहिलेसम्म कदर नभएको ठोरी गाउँपालिका –१ का वडाध्यक्ष रामशरण कुँवरले दुखेसो गरे । उनले लोकतन्त्रमा जनताको चाहानाको सम्मान हुने भएपनि राज्यपक्षवाट ठोस कदम नचालिएको वताए ।
मुख्यमन्त्री पौडेलले जनताको भावनाको सम्मान राज्यबाट हुने भन्दै प्रदेश ३ का लागि पनि ठोरी नाकाको आवश्यकता रहेको बताए । उनले प्रदेश ३ का लागि सबैभन्दा उपयुक्त नाका ठोरी नै हुने भन्दै प्रदेश २ सँग आवश्यक छलफल र सहमतिमा अघि बढ्ने प्रतिकृया दिए ।
‘प्रदेश आत्मनिर्भर बन्न उचित नाकाको समेत आवश्यकता पर्दछ,’मुख्यमन्त्री पौडेलले भने, ‘सरकारले आयोग गठन गरेरै भएपनि सीमा हेरफेर गर्नुपर्दछ ।’
पटकपटक प्रदेश २ गाभिन पाउनुपर्ने माग गर्दै यहाँका स्थानीयले आन्दोलन समेत गर्दै आएका छन् । स्थानीय तहको निर्वाचनपछि बसेको ठोरी गाँउपालिकाको पहिलो बैठकले ठोरीलाई प्रदेश ३ मा गाभिन प्रस्ताव पारित समेत गरिसकेको छ । यसअघि माओवादीका अध्यक्ष प्रचण्डले समेत ठोरी पुगेर चितवनमा गाम्भे आश्वासन दिएका थिए ।
उनले ठोरी केरुङ राजमार्ग निर्माण गरिने समेत प्रतिवद्धता व्यक्त गरेका थिए । मुख्यमन्त्री पौडेल र कृषि तथा भूमिसुधार मन्त्री दावादोर्जे लामा सोमवार माडी र ठोरीका विभिन्न कार्यक्रममा सहभागी भएर तिव्र रुपमा विकास गरिने आश्वासन दिए ।












प्रतिक्रिया