रुकुम पश्चिमका सबै स्थानीय तहमा स्तरिय स्वास्थ्य ल्याब

0
Shares

धनवीर दाहाल, रुकुम । रुकुम पश्चिमका सबै स्थाीय तहमा स्तरीय स्वास्थ्य ल्याब राख्ने तयारी गरिएको छ । पूर्वमन्त्री एवं रुकुमबाट प्रतिनिधिसभा सदस्य जनार्दन शर्मा ‘प्रभाकर’को पहल एवं पालिकाहरुको लगानीमा सबै पालिकामा सुविधासम्पन्न ल्याव सेवा राख्ने तयारी गरिएको हो ।

जसअनुसार मुसीकोट नगरपालिकाका दुई स्थान र अन्य पाँच पालिकाका एक÷एक स्थानमा ल्याव सेवा चाँडै सञ्चालनमा आउने छन् । मुसीकोटको सल्ले र झुल्खेतमा ल्याव सेवा राखिने छ । पश्चिम रुकुममा मुसीकोट, चौरजहारी र आठबीसकोट गरी तीन नगरपालिका तथा सानीभेरी, त्रिवेणी र बाँफीकोट गरी ती गाउँपालिका रहेका छन् । छ वटै पालिकामा स्थापना हुने ल्यावमा काम गर्ने प्राविधिकलाई तालिम दिने काम पनि सकिएको छ ।

राजधानीको सम्यक डाइग्नोष्टिक प्रालिले सात जना प्राविधिकलाई एक महिनासम्म निशुल्क तालिम दिएको छ । तालिम लिएका व्यक्तिहरुलाई बिदाइ गर्दै पूर्वमन्त्री शर्माले गाउँमा गएर निजी स्वास्थ्य संस्थाको जस्तै स्तरीय सेवा दिन निर्देशन दिनुभएको छ । चुनावका क्रममा अघि सारिएका एजेण्डा कार्यान्वायन गर्ने सवालमा शर्माले स्वास्थ्यतर्फ यो पहिलो योजना कार्यान्वायनमा ल्याउन थालेको स्वकीय सचिव श्रीकुमार कठायतले जानकारी दिनुभयो ।

प्राविधिक आफैले सामान लिएर जाने जानकारी दिंदै उहाँले लगत्तै सेवा शुरु गरिने बताउनुभयो । राजधानीका बिशेषज्ञको सहयोग लिइने यसैबीच रुकुमका सबै पालिकामा स्थापना हुने स्वास्थ्य ल्यावमा आउने समस्या स्थानीयस्तरमै समाधान हुन नसके काठमाडौंमा रहेका बिशेषज्ञबाट पनि पनि सेवा लिने ब्यवस्था मिलाइएको छ । राजधानीको सम्यक डाइग्नोष्टिक प्रालिले गाउँबाट फोन वा इमेलमार्फत आउने समस्याको बिशेषज्ञबाटै समाधान खोज्ने गरी ब्यवस्था मिलाइएको छ । जसका लागि प्रालिका अध्यक्ष केयोर गौतम सबै पालिकामा पुगेर संभाव्यता अध्ययन गरी फर्कनुभएको छ ।