खर्च हुन नसकेको बजेट कृषिमा ः मन्त्री खनाल



सिर्जना पन्त, बागलुङ

कृषि, भूमि सुधार तथा सहकारी मन्त्री चक्रपाणि खनालले कृषिमा लगानी बढाइने बताउनु भएको छ। अन्य क्षेत्रको खर्च नभएको बजेटलाई रकमान्तर गरेर कृषिमा लगानी गर्नका लागि छलफल भएको र सबै मन्त्रालयका सचिवलाई निर्देशनसमेत दिइएको उहाँले बताउनुभयो।

बागलुङमा आइतवार आयोजित पत्रकार भेटघाटमा बोल्दै मन्त्री खनालले परम्परागत निर्वाहमुखी खेतीबाट मुलुकको समृद्धि सम्भव नभएको भन्दै अब कृषिमा आधुनिकिकरण, यान्त्रिकरण र व्यावसायिकरण गरिने बताउनुभयो।

कृषि, पर्यटन र जलस्रोतको व्यापक उपयोगबाट मात्रै देशले समृद्धि हासिल गर्ने बताउनुभयो। ‘अहिले मुलुकमा एक खालको निराशा छ, खेतीयोग्य जमिन बाँझो छन्, युवा विदेशिएका छन्,’ उहाँले भन्नुभयो–‘अब समाजमा व्याप्त निराशा हटाउन कृषिमा बृहत् सुधार, जग्गाको यथोचित उपयोग र उत्पादनमूलक कार्यमा लगानीलाई बढावा दिइनेछ।’

गहुँलगायत केही बालीमा मुलुक आत्मनिर्भर भइसकेको बताउँदै उहाँले चामलमा नेपाललाई दुई वर्षभित्रमा आत्मनिर्भर गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो। यसैबीच मन्त्री खनालले बागलुङको ऐतिहासिक चैत्राष्टमी मेलाको उदघाट्न पनि गर्नुभयो। कालिका भगवती गुठीले आयोजना गरेको मेलाको विशेष समारोहको उद्घाटन गर्दै मन्त्री खनालले अबको आर्थिक समृद्धिका लागी कृषि र पर्यटनलाई जोड दिइने दाबी गर्नुभयो।

प्रसिद्ध कालिका भगवति मन्दिरसँगै यस क्षेत्रको धार्मिक पर्यटन प्रवद्धनमा समय सापेक्ष योजना र पूर्वाधार विकासमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो। ‘नयाँ विकास गर्ने नाममा ऐतिहासिक पुरातात्विक चिजको संरक्षण गर्न बिर्सिनु हुँदैन,’ उहाँले भन्नुभयो–‘पुराना मौलिक चिजलाई भत्काएर नभई त्यसको संरक्षण सहित थप पूर्वाधार, प्रचार प्रसार गर्न आवश्यक छ।

प्रतिक्रिया दिनुहोस्