ईयूलाई प्रधानमन्त्रीको चेतावनी

0
Shares

काठमाडौं। (नेस)
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधानको भावना, मर्म र प्रावधानलाई होच्याउने गरी सार्वजनिक गरिएको युरोपेली सघं (ईयू) को निर्वाचन पर्यवेक्षणसम्बन्धी प्रतिवेदन सच्याउन आग्रह गर्नुभएको छ। उहाँले ईयूलाई पर्यवेक्षणका नाममा धर्म प्रचार गर्ने र त्यसको प्रतिशोध प्रतिवेदनमा लिन नहुने बताउँदै नेपाल सामाजिक न्याय र समानताका लागि काम गर्ने सार्वभौमसत्ता सम्पन्न राष्ट्र भएकाले कुनै भ्रम नपाल्न आग्रह गर्नुभएको हो।

राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) द्वारा आइतबार आयोजित पर्यवेक्षण मूल प्रतिवेदन सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री ओलीले ईयूले संविधानको भावनामा आँच पुर्याउने गरी प्रतिवेदन ल्याएकोमा असन्तुष्टि जनाउनुभयो। ‘नेपाललाई होच्याएको हो? हेपेको हो? मैले र नेपाली जनताले हेपिएको महसुस गरेका छौं, ईयूलाई विनम्रतापूर्वक आग्रह गर्छु, यसलाई तुरुन्त सच्याउनुस्’ –उहाँले भन्नुभयो।

युरोपियन युनियनका नाममा नेपालको सामाजिक प्रबन्ध, संवैधानिक व्यवस्था र उपलब्धिहरूलाई कम नआक्न चेतावनी दिँदै प्रधानमन्त्री ओलीले भन्नुभयो– ‘ईयूका नाममा आएको प्रतिवेदन सच्याउन सरकारले आग्रह गरेको तर उसले झन जिद्धी गरेजस्तो छ ,म फेरि आग्रह गर्न चाहन्छु, यो प्रतिवेदनमा पुनर्विचार गर्नुहोस्।’

नेपालको लोकतन्त्रप्रतिको निष्ठामा कसैले आशंका नगर्न आग्रह गर्दै उहाँले भन्नुभयो– ‘हामीलाई लोकतन्त्र र समावेशीताको पाठ सिकाउनेहरूले नेपालमा भन्दा १÷२ प्रतिशत कम भए पनि नीति निर्माण तहमा महिलाको संख्या देखाउन सक्छन्?’

प्रधानमन्त्री ओलीले गरिब छन् भनेर नेपालीलाई हेप्ने र जे गरे पनि हुन्छ भन्ने मानसिकता त्याग्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गर्दै भन्नुभया– ‘नेपालमा मतदाता सचेत छन्। ८० प्रतिशत मतदाताले लोकतन्त्रप्रतिको निष्ठा देखाउँदै मतदान गरे, केही मत बदर भयो। तर मतदानमा सहभागी हुनु भनेको आम जनताले लोकतन्त्रप्रति गरेको सम्मान हो।’
सोही कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले निर्वाचन हुने÷नहुने दुविधाका बीचमा ११ महिनाका अवधिमा विभिन्न समस्या हुँदा पनि आठ निर्वाचन सम्पन्न गर्न सफल भएको बताउनुभयो।