भिक्षु संघबाट भिक्षाटन

0
Shares

नेपाल समाचारपत्र
ललितपुर
दान दिनुपर्ने बोध गराउन धम्मसाकच्छा संघ हखाले ललितपुरमा भिक्षाटन कार्यक्रम आयोजन गरेको छ।

संघले अखिल नेपाल भिक्षु महासंघसँग समन्वय गरी सो कार्यक्रम आयोजना गरेको हो। ४० जना भिक्षु भिक्षा लिँदै नगरका विभिन्न भागमा परिक्रमा गरेका थिए। बुद्ध धर्ममा दानलाई बुद्धत्वको अभ्यासका रूपमा लिइन्छ। मनमा रहेको दरिद्र र लोभको भाव क्रमशः हटाउन दान दिनुपर्ने गौतम बुद्धको सन्देश रहेको छ। त्यसको अभ्यास गराउन कार्यक्रम आयोजना गरिएको संघले जनाएको छ।

मंगलबजार, हःखा टोलबाट शुरू भएको भिक्षाटन कार्यक्रम नटोल, श्रीबहाल, बुबहाल, हखबहाल, वनबहा, न्याखाचोक, नबहिल, नागबहाल, इलाननी, मंगलबजार, सौगल, त्वायबहाल, सुन्धारा, ओकुबहाल, गुजिबहाल, थैना हुँदै हखामा पुगेपछि समापन गरिएको थियो। भिक्षाटनबाट जुटेको रकम लुम्बिनीस्थित निर्माणाधीन थेरवादी बुद्ध विहारमा खर्च गरिने महासंघका महासचिव भिक्षु कौण्डन्यले जानकारी दिनुभयो।

आयोजनामा अखिल नेपाल भिक्षु महासंघलाई निमन्त्रणा गरी ४० जना भिक्षुसहित ललितपुरमा भिक्षाटन कार्यक्रम सम्पन्न भएको छ। श्रद्धालु उपासक–उपासिका वर्गबाट दान प्रदानको साथै अष्टपरिष्कार दान गरी भोजनदानसहित कार्यक्रम सम्पन्न भएको थियो।

आयोजकहरूका अनुसार कार्यक्रमको उद्देश्य भनेको नै घरमा बसिरहेका उपासक–उपासिकाहरूलाई दान गर्न अवसर दिनुको साथै विहार दान सरह नै महाकुशल दान गरी बुद्ध जन्मस्थल लुम्बिनीमा निर्माण भइरहेको थेरवाद बौद्ध विहारलाई यथासक्य सहयोग होस् भन्ने रहेको छ।