पानी नपरेपछि बोकाको बली

0
Shares

दुर्गाप्रसाद शर्मा
पर्वत । छ महिना भन्दा लामो खडेरीका कारण समयमा बालीनाली लगाउन नपाएका पर्वतको दुर्गम गाउँका किसानले पानी पार्न माइथानमा बोकाको बली दिएका छन ।
पर्वतको महासिला गाउँपालिका वडा नं ५ का बासिन्दाले गाउँको बतासे डाडाँमा रहेको माईथानमा शनिबार बोकाको बलि दिएका हुन । बोकाको बलि दिएको तीन दिन भित्र आकाशबाट पानी पर्ने बिश्वास त्यस क्षेत्रमा रहेको छ ।
असोज देखि पानी नपरेपछि पानी पर्ने बिश्वासमा बोकाको बलि दिइएको स्थानियले बताएका छन । लामोे खडेरी परेपछि पानी पार्न माइको थानमा पुजा गर्ने पुरानो चलन भएकाले यसपटक पनि पानी पर्ने आशमा बोकाको बलि दिएको स्थानिय बद्री अधिकारीले जानकारी दिए । ‘पुस्तौ देखि यही चलन चल्दै आएको छ’ उनले भने ‘बोकाको बलि दिएको पुजा गरेपछि हरेक पटक तीन दिनमा पानी परेकै छ’ गाउँलेले हरेक घरबाट नगद संकलन गरेर बोकाको बलि दिएका हुन ।
यस अघि पाँच बर्ष पहिले पनि यसरी नै लामो खडेरी पर्दा माइको थानमा बलि दिइएको थियो । त्यसभन्दा अघि २० बर्ष पहिले पनि यसरी नै बलि दिइएको थियो । पुर्खाहरुले पानी नपरेपछि बलि दिन चलन चलाएका कारण नयाँ पुस्ता समेत पानी पार्न बलि दिदै आएको छ । ‘स्थानियबासीमा बिश्वास भएका कारण बलि दिने चलन फेरी शुरु भएको हो’अधिकारीले भने ।
पर्वतका अन्य भूभागमा केही दिन यता असिना पानी परेपछि महाशिला गाउँपालिका लगायतका क्षेत्रमा असोज देखि नै बर्षा भएको छैन । हिउँदे बर्षा नहुँदा तोरी, आलु, गहुँ, तरकारी खेती प्रभाबित भएको मात्रै छैन मकै लगाउन समेत ढिलाई भएको कृषकले बताएका छन । समयमा बर्षा नहुँदा खेतबारी खनजोत समेत हुन सकेको छैन ।