जल तथा मौसम सप्ताह मनाउने सरकारको तयारी

0
Shares

काठमाडौं । सरकारले ‘जल तथा मौसम सप्ताह’ मनाउने भएको छ । जल तथा उर्जा आयोगको सचिवालयले विश्व पानी दिवस र विश्व मौसम दिवसको अवसर पारेर आगामी चैत्र ३ गतेदेखि ९ गतेसम्म राष्ट्रव्यापी रुपमा जल तथा मौसम सप्ताह मनाउन लागिएको जानकारी गराएको हो ।

चैत्र ८ गते विश्व पानी दिवस र चैत्र ९ गते विश्व मौसम दिवस मनाउने गरिन्छ । सोही अवसर पारेर सरकारले जल तथा मौसम सप्ताह मनाउन लागिएको सचिवालयका प्रवक्ता माधव बेल्बासेले जानकारी दिनुभयो ।

विहिबार सिंहदरबारस्थित आयोगको कार्यालयमा पत्रकार सम्मेलन गरी उहाँले पानीको महत्व र यसको उचित व्यवस्थापनबारे सर्वसाधारणदेखि नीति निर्माता समेतमा चेतना जगाउन जल तथा मौसम साताव्यापी रुपमा मनाउने निर्णय लिइएको पनि स्पष्ट पार्नुभयो । कार्यक्रमलाई सफल बनाउन सचिवालयका सचिव डा. रमेशप्रसाद सिंहको नेतृत्वमा आयोजक समिति समेत गठन गरेको छ ।

विश्वमा हरेक वर्ष मार्च २२ तारिखका दिन विश्व पानी दिवस र मार्च २३ तारिखका दिन विश्व मौसम दिवस मनाउने गरिन्छ । यस वर्ष विश्व पानी दिवसको नारा ‘पानीका लागि प्रकृति’ भन्ने तय गरिएको छ भने विश्व मौसम दिवसको नारा ‘मौसमप्रति सचेत रहऔं’ भन्ने तय गरेको छ । सरकारले विगत नौं वर्षयता विश्व पानी दिवसको अवसर पारेर विभिन्न चेतनामूलक कार्यक्रम संचालन गर्दै आएको छ ।