विनोद सिंह विष्ट, बैतडी । प्रदेश नं ७ (सुदूरपश्चिम) को पहाडबाट मानिस लगातार तराईतिर बसाईसराई गर्दै जाँदा पहाडी क्षेत्र रित्तिदै गएको छ । प्रदेश नम्बर सातका अधिकांश पहाडी क्षेत्रका नागरिक तराईतिर बसाईसर्न थालेपछि पहाड रित्तिन थालेको हो । आज भन्दा करीब ३० बर्ष अघि सम्म पहाडमा झुरुप्प परेका बस्तीहरु थिए । तर पछिल्लो समयमा पहाडबाट अनवरत रुपमा तराईमा बसाई सर्न थालेपछि पहाड रित्तिदै जान थालेको छ । पहाडबाट भईरहेको अत्यधिक बसाईसराईले यो क्षेत्रमा विकास समेत हुन सकिरहेको छैन् ।
पहाडमा भएका सम्भावनाहरुको खोजी नभएकाले मानिसहरु तराईमा बसाईसराईगर्न थालेको जगन्नाथ बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख पृथ्वीराज अवस्थीले बताउनुभयो । शिक्षा,स्वास्थ्य लगायतका रोजगारीका अवसरपनि तराईमै केन्द्रित हुन थालेपछि तराईमा बसाइसर्नेको चाप बढ्न लागेको हो उहाँले भन्नुभयो “संघीय व्यवस्थामा तराईमै राजधानी बनाइए पहाड रित्तो हुनेछ ।”
पहाडको समविकास र यो क्षेत्रका सम्भावनाहरुको खोजीका लागि पहाडमै राजधानी बनाउनुपर्छ उहाँले भन्नुभयो “पहाडबाट भईरहेको अत्यधिक बसाईसराई रोक्नका लागि पहाड केन्द्रित विकास हुनुपर्छ ।”
पछिल्लो केही दशकयता बैतडी लगायत प्रदेश नम्बर सातका पहाडी जिल्लाका नागरिक तराईतिर बसाई गर्नथालेपछि पहाडमा जनसंख्या कम हुँदै गएको छ ।
शिक्षा, स्वास्थ्य, विकास जस्ता कुराहरु तराईमै केन्द्रित हुनुले पनि यो क्षेत्रका नागरिक बसाई सार्न थालेका जगन्नाथ बहुमुखी क्याम्पसका सहायक प्राध्यापक सुरेन्द्र बमको भनाई रहेको छ । उहाँले भन्नुभयो “पहाडी क्षेत्रमा अपेक्षाकृत रुपमा विकास नहुनुले बसाईसराईको क्रम नरोकिएको हो ।”
पहाडी क्षेत्रबाट निरन्तर भईरहेको बसाईसराईले तराईमा जनसंख्याको चाप बढेको छ । यसले तराईको खेतीयोग्य जमीन मासिदै गएको छ भने पहाडका सम्भावनाहरु ओझेलमा पर्दै गएका छन् । “अबको संघीय व्यवस्थामा विकास निर्माण, शिक्षा, स्वास्थ्यका कुरामा पहाडमै पहुँच पुग्ने किसिमले तय गर्नुपर्छ” जगन्नाथ बहुमुखी क्याम्पसका सहायक प्राध्यापक बमले भन्नुभयो ।
प्रतिक्रिया