पूर्वीपृतनामा भूपू सैनिकको परेड

0
Shares

नेपाल समाचारपत्र
काठमाडौं
पूर्वी पृतना हेडक्वाटरअन्तर्गत मोरङ, सुनसरी, झापा, ईलाम, पाँचथर र ताप्लेजुङ जिल्लाका भूपू सैनिक तथा निवृत्तभरणमा रहेका परिवारजनका लागि सुनसरीको ईटहरी ब्यारेकमा सञ्चालन भएको नेपाली सेना भूतपूर्व सैनिक सम्मेलन प्रधानसेनापति राजेन्द्र क्षत्रीको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ।

प्रधानसेनापति क्षत्रीले सम्मेलनलाई सम्बोधन गर्ने क्रममा अवकाश प्राप्त सैनिक व्यक्तिहरूको अवकाश पछिको जीवनमा थप ऊर्जा ल्याउनका लागि आपसमा भेटघाट गर्ने, सुख दुःख बाँड्ने, अपनत्वको भावना जागृत गराउने उद्देश्यले सम्मेलनको आयोजना गरेको जानकारी दिनुभयो।
उहाँले नेपाली सेनाका लागि भूतपूर्व सैनिकहरूले गर्नुभएको समर्पणको यथोचित सम्मान गर्ने हेतुले भूपू सैनिक सम्मेलनको आयोजना गरिएको बताउनुभएको छ।

सोही क्रममा प्रधानसेनापति क्षत्रीले उपलब्ध स्रोतसाधनको परिधिभित्र रही हिताधिकारीहरूको हित र कल्याण होस् भन्ने हेतुले ‘कमान्ड मार्ग निर्देशन, २०७२’ मा उल्लेख भएअनुसार कल्याणकारी कार्यक्रमको पहुँच बढाउनेतर्फ केन्द्रित रही अधिकतम संख्यामा बहालवाला, अवकाश प्राप्त तथा आश्रित परिवारका सदस्यलाई सहयोग तथा सुविधा प्रदान गर्ने गरी नयाँ कार्यक्रमहरूको लागि नेपाल सरकारसँग समन्वय र स्वीकृति लिई अगाडि बढ्ने नीति अवलम्बन गरिएको बताउनुभयो।

सोही अवसरमा उहाँले २०७४ माघ महिनाबाट लागू हुने गरी कल्याणकारी कोषबाट ९० वर्षदेखि ९९ वर्षसम्म उमेर पुगेकाहरूलाई ‘पूर्व शताब्दी मासिक भत्ता’ स्वरूप ३ हजार तथा सोभन्दा माथि उमेर पुगेकाको हकमा ‘शताब्दी मासिक भत्ता’ स्वरूप १० हजार दिने निर्णय गरिएको समेत जानकारी गराउनुभएको थियो।

उक्त कार्यक्रममा बोर्डका कार्यकारी अधिकृत पूर्वउपरथी पदम विलास कार्कीले स्वागत मन्तव्य राख्नुभएको थियो भने भूतपूर्व सैनिकहरूको तर्फबाट पूर्वउपरथी दिलिप कार्कीले धन्यवाद मन्तव्य राख्नुभएको थियो। त्यसैगरी वलाधिकृत रथी पूर्णचन्द्र थापाले समापन गर्नुभएको थियो।
नेपाली सेनाको व्यवस्थापन तथा नेपाली सेना कल्याणकारी बोर्डको संयोजकत्वमा सञ्चालन भएको सो सम्मेलनमा उक्त ६ जिल्लाका ३ हजार ५ सय ५० जना भूतपूर्व सैनिक तथा निवृत्तीभरणमा रहेका परिवारजनहरूको उपस्थिति रहेको थियो।

सम्मेलनको दौरान नेपाली सेना कल्याणकारी बोर्ड र नेपाल इन्भेस्टमेन्ट बैंकको सहकार्यमा सञ्चालित लघुवित्त कार्यक्रमका ऋणीहरूलाई चेक हस्तान्तरण तथा सर्वाेकृष्ट व्यवसायीहरूलाई प्रशंसापत्र एवम् पुरस्कार वितरण भएको थियो।

अशक्त भूतपूर्व सैनिक, वहाँहरूका अशक्त परिवारहरूलाई ह्विल चियर वितरण तथा उल्लेखित ६ जिल्लाभित्रका ज्येष्ठ भूतपूर्व सैनिक र निवृत्तीभरणमा रहेका भूतपूर्व सैनिकको परिवारमध्येको ज्येष्ठ महिलालाई अभिनन्दनसमेत गरिएको थियो।