साझाको रात्रिकालीन सेवा शुरू

0
Shares

ईश्वरराज ढकाल, ललितपुर

साझा यातायातले बुधबारबाट रात्रिकालीन सेमी फ्लोर (जनबस) बस सञ्चालन गरेको छ। विशेष गरी अस्पताल आउने–जाने बिरामीका लागि सो सेवा शुरू भएको हो। लगनखेलबाट राजधानीको मुख्य अस्पतालसम्म पुग्ने गरी बस सञ्चालन गरिएको छ।

सो बसले समय तालिकाअनुसार सेवा दिने भएको छ। नेपालमा पहिलोपटक सञ्चालन गरेको सेमी फ्लोर अत्याधुनिक बसमा दुई वटा मात्रै खुड्किला रहेको छ। सार्वजनिक बस चढ्न र ओर्लन सजिलो हुने भएको दुई खुड्किलाको बस ल्याइएको हो।

अशोक ल्यान्ड कम्पनीले सहुलियतमा उपलब्ध गराएको सो बस नेपालमा पहिलो भएको सझा यातायातका अध्यक्ष कनकमणि दीक्षितले जानकारी दिनुभयो। अत्याधुनिक सुविधायुक्त सो बसमा क्लज छैन। अन्य बसको इन्जिन पछाडि भए पनि यो बसको इन्जिन अगाडि नै छ। बस सञ्चालन गर्न डिस्प्ले मोनिटर जडान गरिएको छ। बस चढ्न र ओर्लनका लागि डिस्प्ले राखिएको छ भने कहाँ पुगियो भन्नका लागि अटोमेटिक स्पिकरको व्यवस्था गरिएको छ।

यात्रुलाई सहजताका लागि आफू पुग्ने गन्तव्यमा डिस्प्ले हेर्ने व्यवस्था गरिएको छ। ४४ सिट भएको सो बस अपांगमैत्री छ। नेपालमा पहिलोपटक भित्रिएको जनबस अन्य सार्वजनिक बसको तुलानामा लामो छ। नेपालमा भित्रिएको एकमात्र यो बस सबैभन्दा लामो १२ मिटर छ। अन्य बस १० देखि ११ मिटरको रहेका छन्।

यो बसले बिहान ७ बजेदेखि राति ११ बजेसम्म राजधानीबासीलाई सेवा दिनेछ। अस्पतालको सुविधाका लागि समेत सञ्चालन गरिएको यो बस राति ९ देखि ११ बजेसम्म समयअनुसार रात्रिकालीन सेवाको व्यवस्था गरेको छ।

राति ९ बजे लगनखेलको पाटन अस्पतालबाट निदान, सर्वांग, वीर, शिक्षण, कान्तिवाल हँुदै नारायणगोपालचोकसम्म पुगेर सोही रुटबाट फर्किने व्यवस्था गरेको छ। रात्रिकालीन बस सञ्चालन गर्न प्रत्येक रुटमा टाइमको व्यवस्था गरिएको बसका प्रमुख कार्यकारी अधिकृत महेन्द्र पाण्डेले जानकारी दिनुभयो।

उहाँका अनुसार अहिले एउटा मात्रै सञ्चालन भएको यस्ता बस अन्य निकायको सहयोगमा थप गर्ने योजना रहेको छ। अध्यक्ष दीक्षितले मोटरसाइकल र साना सवारीसाधन प्रयोगकर्ताले यस्ता किसिमका बस चढ्न थालुन भन्ने उद्देश्यले सेमी फ्लोर जनबस सञ्चालन गरिएको जानकारी दिनुभयो।

उहाँले काठमाडौं र ललितपुर महानगरपालिकाले सहयोग गरेमा यस्ता अन्य बस थप गर्न सकिने जानकारी दिनुभयो। बसको शुभारम्भ काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र ललितपुरका मेयर चिरिबाबु महर्जनले गर्नुभएको थियो।

दुवै मेयरले राजधानीमा सेमी फ्लोर बस सञ्चालन गरेर साना सवारीसाधान चढ्ने बानीलाई विस्तारै हटाउँदै जाने बताएका थिए। काठमाडौंका मेयर शाक्य र ललितपुरका मेयर महर्जनले आगामी वर्ष यस्ता किसिमका बस खरिद गरेर सञ्चालन गर्न साझा यातायातलाई सहयोग गर्ने बताएका थिए।

कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष्य एवं अशोकल्यान्डका नेपालका अधिकृत विक्रेता चन्द्र ढकालले थप बस सञ्चालन गर्न आफूले सहयोग गर्ने बताउनुभयो। राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव वडालले सहकारीमार्फत यातायातमा गरिएको महत्त्वपूर्ण कामको प्रशंसा गर्नुभएको थियो। विसं २०१८ सालमा स्थापना भएको साझा यातायात २०५८ सालमा बन्द भएको थियो।

२०६९ सालमा पुनरावेदन अदालतको आदेशपछि पुनः १६ वटा बस खरिद गरेर सञ्चालन गरिएको साझामा एउटा सेमी फ्लोर बससहित ४७ वटा बस सञ्चालनमा आएका छन्। साझा यातायातले थप २० वटा बस खरिद गर्ने तयारी गरेको छ। सेमी फ्लोर जनबस सञ्चालन गर्न आयोजना गरिएको कार्यक्रममा पूर्वमन्त्रीसहित विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।