राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी मेलौलीलाई


विनोद सिंह विष्ट, बैतडी । बैतडीमा सम्पन्न राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको उपाधी मणिलेक मा वि काँडा मेलौलीले हात पारेको छ । फागुन १९ गते देखि कृष्ण मा बि पाटनको खेल मैदानमा शुरु भएको १० औं संस्करणको राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता बुधबार सम्पन्न भएको हो ।

सम्पन्न राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको समापन कार्यक्रमका प्रमुख अतिथि बैतडी क्षेत्र नं क का प्रदेश सभा सदस्य प्रेम प्रकाश भट्ट ‘आदित्य’ले बिद्यार्थीहरुले पढाईका साथै खेलकुदलाई पनि उत्तिकै महत्त्व दिएर ब्यबसायीक बनाउनु पर्ने बताउनुभयो । बैतडी जिल्लाको खेलकुदको गुणात्मक र दीगो विकासका लागि यथासक्य प्रयास गर्ने समेत उहाले बताउनुभयो ।

कृष्ण मावि पाटनको खेल मैदानमा बुधबार सम्पन्न राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको १० औं संस्करणमा १३ स्वर्ण, ५ रजत र ५ कास्य पदक सहित मणिलेक मा वि काँडा मेलौली प्रथम भएको हो । प्रतियोगितामा ५ स्वर्ण, ६ रजत र ३ कास्य सहित कृष्ण मा वि दोस्रो भएको छ । ५ स्वर्ण, ४ रजत र ४ कास्य सहित ज्ञानेश्वर मा वि विजयपुर तृतीय भएको छ । त्यस्तै प्रथम, द्वितीय र तृतीय हुने विद्यालयहरुले पुरस्कार स्वरूप क्रमशः १५ हजार, १२ हजार र नौ हजार नगद समेत प्राप्त गरेका छन् ।

त्यसैगरी छात्र भलिबल तर्फ केदारेश्वर मा बि दुर्गास्थान प्रथम, उदय मा वि कफाडी द्वितीय र मा वि कटमडा तृतीय भएका छन् । छात्रा भलिबल तर्फ मणिलेक मा बि काँडा मेलौली प्रथम, सिद्धनाथ मा बि सिलंगा द्वितीय र सरस्वति मा बि सल्लेबासा तृतीय भएका छन् । त्यस्तै छात्र कबड्डी तर्फ कृष्ण मावि पाटन प्रथम, पाटन भ्याली स्कुल पाटन द्वितीय र मणिलेक मावि काँडा मेलौली तृतीय भएका छन् ।

छात्रा कबड्डी तर्फ कृष्ण मावि पाटन प्रथम, शितलपूर मावि मेलौली द्वितीय र पाटन भ्याली स्कुल पाटन तृतीय भएका छन् । १० औं संस्करणको राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगितामा बैतडी जिल्लाका ३० ओटा विद्यालयको सहभागिता रहेको थियो । आउँदो वर्ष २०७५ मा हुने ११ औं संस्करणको राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता पाटन नगरपालिकाको ज्ञानेश्वर मावि विजयपुरले आयोजना गर्ने जिल्ला खेलकुद विकास बैतडीले जनाएको छ ।