भवन संहिता कार्यान्वयनमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण

0
Shares

पुष्कर बुढाथोकी, भक्तपुर

भक्तपुरमा आयोजित एक कार्यक्रममा भवन संहिता कार्यान्वयनमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण रहने औंल्याइएको छ।

फेन्डस् सर्भिस काउन्सिल नेपाल नामक संस्थाले चाँगुनारायण नगरपालिकाको समन्वयमा नगरकोटमा आयोजना गरेको एक दिने कार्यशाला गोष्ठीमा सहभागी वक्ताहरूले सुरक्षित भवन निर्माणका लागि भवन संहिता कार्यान्वयन गर्नु आवश्यक रहेकाले यसको कार्यान्वयका लागि सरकारसँग हातेमालो गर्न निजी क्षेत्र तत्पर रहेको बताउनुभयो।
कार्यक्रममा बोल्दै चाँगुनारायण नगरपालिकाका उपप्रमुख तथा नगरपालिकाका विपद् व्यवस्थापन समिति संयोजक बिना बास्तोलाले भवन संहिता कार्यान्वयनमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण रहने बताउनुभयो।

उहाँले अरु काममा जस्तै सुरक्षित आवास निर्माणमा पनि निजी क्षेत्रले उत्प्रेरकको भूमिका खेल्नुपर्ने बताउँदै स्थानीय तह यस बारे कसरी सहकार्य गरेर जान सकिन्छ, त्यसका लागि तयार रहेको बताउनुभयो।
उपप्रमुख बास्तोलाले बिरामी भएपछि उपचार गर्नुपर्छ भनेजस्तै गरी सुरक्षित घर निर्माणका लागि भवन संहिता पालना गर्नुपर्छ भन्ने भावना समुदायमा जगाउनु आवश्यक रहेकोमा जोड दिनुभयो।

फेण्डस् सर्भिस काउन्सिलका अध्यक्ष सूर्यबहादुर थापाले भवन संहिता लागू गर्न यस बारे प्रचारप्रसार गरी नागरिक समुदायलाई आगो लाग्नुअघि नै इनार बनाउनुपर्छ भनेझैं प्रकोपको अवस्थामा सुरक्षित रहने गरी आवास निर्माण गर्न सचेत गराउनु आवश्यक रहेको बताउनुभयो। थापाले चाँगुनारायण नगरपालिकाले विपद् व्यवस्थापनका लागि आपत्कालीन कार्य सञ्चालन केन्द्र नगरपालिकाको सहकार्यमा राख्ने तयारी भइरहेको बताउनुभयो।

कार्यक्रममा पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकीले कुनै पनि नियम देखाउनका लागि नभई कार्यान्वयन गर्नका लागि बन्ने बताउँदै उहाँले नियम कार्यान्वयन गर्न र पालनाका लागि बन्ने भएकाले प्रारम्भिक चरणमा भवन संहिता कार्यान्वयनका लागि समुदायलाई जागृत, सचेत र सहजीकरण गर्नुपर्नेमा जोड दिनुभयो।

नगरकोट नाल्दुम पर्यटन विकास समितिका अध्यक्ष ईन्द्र लामाले नगरकोट गुरुयोजना तयार गरी यहाँको पर्यटकीय क्षेत्रलाई आगामी दिनमा पूर्ण रुपले सुरक्षित आवास क्षेत्र बनाउनेतर्फ समिति सकृय र सचेत रहेको बताउनुभयो। कार्यक्रममा शहरी विकास भवन डिभिजन कार्यालय भक्तपुरका ई. संगीता बरालले भक्तपुरमा ३ प्रतिशत नमुना परीक्षण गर्दा ९१ प्रतिशत घर मापदण्ड विपरीत बनेका र असुरक्षित रहेको फेला परेको भन्दै सुरक्षित आवास निर्माणमा जोड दिनुभयो।

सो अवसरमा शहरी विकास मन्त्रालयका ई. विवेक सिग्देलले राष्ट्रिय भवन निर्माण संहिता बारे र संहिता कार्यान्वयनमा निजी क्षेत्रको भूमिका विषयक दुईवटा कार्यपत्र प्रस्तुत गर्नुभयो। कार्यपत्र प्रस्तुत गर्दै ई .सिग्देलले नेपालमा २०४५ देखि भवन संहिताको अवधारण आएको र २०६६ मा संहिता बनेको बताउँदै यस सम्बन्धमा अझै पनि कतिपय प्रावधान अधुरा रहेको उल्लेख गर्नुभयो।

भवन संहितासम्बन्धी पाठ्यक्रमलाई पठनपाठनमै समेट्न सके प्रभावकारी हुने बताउँदै उहाँले संहिताविपरीत बनेका घरलाई बैंकले पुँजीको गणनामा नगर्न सक्नेतर्फ सचेत गराउनुभयो। निर्माण व्यवसायी हरेकले सुरक्षित आवास निर्माणका लागि संस्थामा कम्तिमा १ जना इन्जिनियरको अनिवार्य व्यवस्था गर्नुपर्नेमा जोड दिंदै उहाँले शैक्षिक संस्था र होटलहरूमा क्षति पुगे ठूलो संख्यामा मानिसको हताहती हुन सक्ने भन्दै यस्ता आवास क्षेत्रको मजबुद निर्माणमा विशेष जोड दिने गरिएको उल्लेख गर्नुभयो।

सिग्देलले नेपालमा घर, होटल, विद्यालयलगायतका संरचना बनाउँदा आवश्यक मापदण्ड पूरा नगर्नेहरू धेरै रहेको बताउनुभयो।नेपाल राष्ट्रिय भवन निमार्ण संहितामा २३ प्रकारका प्रक्रियाहरू रहेको र त्यसमध्ये कुनै एकको मापदण्डमा रहेर निमार्ण कार्य गर्नुपर्ने भए पनि सो पूरा नभएको सिग्देलको भनाइ छ। उहाँले प्राकृतिक प्रकोपहरू जस्तै भूकम्प, बाढीपहिरो, आगलागी, हावाहुरीको जोखिमबाट बच्नका लागि भवन निमार्ण संहिता पालना गर्नुपर्ने बताउनुभयो।

प्रगति परियोजनका ई. चन्द्र हाडाले प्रगति परियोजना र विपद् जोखिम न्यूनिकरणमा निजी क्षेत्रसँगको भूमिका विषयक कार्यपत्र प्रस्तुत गर्दै ६० प्रतिशतभन्दा बढी बसोबास शहरमा रहेको बताउनुभयो। उहाँले भवनलाई सुरक्षित र प्रयोगयुक्त बनाउन राष्ट्रिय भवन संहिता पालना जरुरी रहेको औंल्याउँदै भवन निर्माणमा गरेको एक प्रतिशत अग्रीम लगानी प्रकोपका बेला ७ गुणा नाफामूलक हुने उहाँको भनाइ थियो।

महालक्ष्मी विकास बैंकका आसकुमारले बैंकहरूले संकलन गर्ने प्रकोप व्यवस्थापन रकम भवन संहिताका लागि सदुपयोग गर्नु उत्तम हुने बताउनुभयो। युरोपियन युनियन, ह्युम्यानिटेरियन एड लगायतका संस्थाको सहयोगमा आयोजित कार्यक्रममा सञ्चारकर्मी सोम शर्मा बजगाईं, चाँगुनारायण नगरपालिकाका सब–इन्जिनियर चन्द्रलक्ष्मी श्रेष्ठ, प्रगति परियोजनका संयोजक शक्ति गुरुङ, व्यवसायी मनोज गिरी, बैंक तथा वित्तीय क्षेत्रका प्रमुख तथा प्रतिनिधि, निर्माण व्यवसायी, होटल व्यवसायी, सञ्चारकर्मीलगायतले भवन निर्माणलाई सुक्षित, बलियो, कानुनी र पुँजीप्रधान बनाउन सरकार र निजी क्षेत्रको सहकार्य अपरिहार्य रहेकोमा जोड दिनुभयो।