संसद्मा बोल्ने कि नबोल्ने टुंगो लागेन

0
Shares

गंगा बराल, काठमाडौं
संसद्को पहिलो बैठकमा दलीय प्रतिनिधित्वका आधारमा दलका नेताहरूले बोल्ने कि नबोल्ने भन्ने टुंगो लागेको छैन।

संघीय संसद् सचिवालयले बुधबार प्रतिनिधिसभा र राष्ट्रियसभामा राष्ट्रिय दलको मान्यताप्राप्त राजनीतिक दलका नेतासँग संसद् बैठक सञ्चालनका सम्बन्धमा छलफल गरेको थियो।

संसद् सचिवालयका सहसचिव सुरजकुमार दुराले दलका नेता र सचिवालयबीच बैठक सञ्चालनसहित सचिवालयले तयार पारेको कार्यविधिका बारेमा जानकारी दिने र नेताहरूको धारणा सुनिएको बताउनुभयो।

‘सचिवालयका पदाधिकारीसहित बैठक सञ्चालनका लागि केही प्रमुखका साथै राजनीतिक दलका नेतासँगको छलफल गरिएको हो’, दुराले भन्नुभयो– ‘संसद्को प्रक्रिया कसरी अगाडि बढाउने भन्ने विषयमा सामान्य छलफल भयो, अर्को बैठक आगामी २० गते (आइतबार) बसेर अन्य प्रक्रियाका बारेमा बाँकी निर्णय गर्छ।’
प्रतिनिधिसभाको कार्यव्यवस्थाको जिम्मेवारी सचिवालयका प्रवक्तासमेत रहेका सहसचिव डा. भरतराज गौतमलाई र राष्ट्रियसभा सञ्चालनको जिम्मेवारी सहसचिव मुरारी महतलाई दिइएको छ। सचिवालयका सचिव वीरेन्द्रबहादुर कार्की संयोजकत्वको ११ सदस्यीय समितिले संघीय संसद्को अन्तरिम कार्यविधि बनाएर सचिवालयलाई मंगलबार बुझाएको थियो।

संसद्को पहिलो बैठकमा यसलाई पारित गर्ने प्रस्ताव पनि पेस हुनेछ।
संसद् भवन नयाँ बानेश्वरमा बसेको बैठकमा एमाले नेताहरू सुवासचन्द्र नेम्वाङ, भानुभक्त ढकाल, कांग्रेस नेताहरू डा. मीनेन्द्र रिजाल, सुरेन्द्रराज पाण्डे, डिला संग्रौला, नेकपा माओवादी केन्द्रबाट कृष्णबहादुर महरा, दीननाथ शर्मा, देवप्रसाद गुरुङ, राष्ट्रिय जनता पार्टी (राजपा) का महेन्द्र राय यादव, राजकिशोर यादव, वृशेषचन्द्र लालको सहभागिता थियो। बैठकमा सहभागी सबै नेताहरू सांसद रहनुभएको छ। कांग्रेसको प्रतिनिधिसभाकी सांसदसमेत रहेकी संग्रौलाले शपथ ग्रहण र पहिलो बैठक सञ्चालनको विषयमा छलफल केन्द्रित भएको बताउनुभयो।

प्रतिनिधिसभा सदस्यले आगामी आइतबार ४ बजे र राष्ट्रियसभाका सदस्यले त्यही दिन ५ बजे पद तथा गोपनीययताको शपथ लिने कार्यतालिका संघीय सचिवालयले सार्वजनिक गरिसकेको छ।
संघीय संसद्को बैठक शपथ लिएको अर्को दिन बस्दै छ। माओवादी केन्द्रका नेता शर्माले सचिवालयले केही दिन तयारी गर्ने र त्यो खाका अर्को सर्वदलीय बैठकमा राखिने र आन्तरिकरूपमा पास गरेपछि संसद्बाट अनुमोदन गरिने बताउनुभयो।

‘समय थोरै भएकाले संवैधानिक व्यवस्थाअनुसार गर्नुपर्ने जिम्मेवारी समयसीमामा नै सक्ने गरी तयारी गर्न सचिवालयलाई भनेका छौं।’ –शर्माले भन्नुभयो। शपथग्रहणमा उपस्थित हुँदा निर्वाचित भएको प्रमाणपत्र र राष्ट्रिय पोसाक लगाउन र राष्ट्रिय पोसाक सम्भव नभए संस्कृति झल्कने पोसाक लगाएर आउन संसद्लाई आग्रह गरिएको छ।
कुनै पनि सांसद्ले मातृभाषामा शपथ लिन चाहे ३ दिनअघि नै सचिवालयलाई जानकारी गराउनसमेत भनिएको छ।

सचिवालयले तयार पारेको कार्यतालिकामा चैत ३ गतेभित्र सभामुखको निर्वाचन गरिसक्ने जनाइएको छ। संसद्को पहिलो बैठकमा सभाका जेष्ठ सदस्यले राष्ट्रपति कार्यालयबाट प्राप्त बैठक आह्वानसम्बन्धी पत्र र प्रधानमन्त्री कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउने कार्यसूची बनाइएको छ। बुधबारको बैठकमा कार्यसूचीसमेत वितरण गरिएको छ। अबको सर्वदलीय बैठकमा अन्तरिम कार्यविधि र कार्यसूचीबारे आवश्यक सुझाव र परिमार्जनबारे पनि छलफल हुने सचिवालयले जनाएको छ।

प्रतिनिधिसभामा राष्ट्रिय जनता पार्टी (राजपा)का सांसद् महेन्द्र राय यादव र राष्ट्रियसभामा कञ्चनपुरकी तारादेवी भट्ट जेष्ठ सदस्य रहेको सचिवालयको तथ्यांकमा उल्लेख छ। राष्ट्रपतिको निर्वाचन फागुन २९ गते हुँदै छ। नयाँ राष्ट्रपतिले संसद्को दुवै सदनलाई सम्बोधन गर्ने कार्यतालिका छ।

१ सय ३१ मर्यादापालक
संसद् सचिवालयले संघीय संसद्का लागि १ सय ३१ मर्यादापालक खटाएको छ। विशिष्ट पदाधिकारी, मन्त्री, संसद् र संसद् भवनको सुरक्षाका लागि सचिवालयले प्रहरीलाई मर्यादापालकको जिम्मा दिने गरेको छ।

सचिवालयका प्रशासन शाखाका अधिकृत नेत्रप्रसाद भुसालले बुधबारबाट मर्यादापालक हाजिर भएको बताउनुभयो। उहाँले २२ जना मर्यादापालक यसअघिकै भएको र १ सय ९ जना थप गरिएको जनाउनुभयो।

यसअघि संविधानसभामा ९७ जना मर्यादापालकको दरबन्दी रहे पनि केही बढी संख्यामा मर्यादापालक कार्यरत थिए। भुसालले मर्यादापालकबाहेक ८ जनाको बम डिस्पोजल टोली, ५ जनाको ट्राफिक टोली र डग स्मेथिङ टोली पनि रहेको बताउनुभयो। मर्यादापालकलाई बुधबार नै सिंहदरबार र यहाँ रहेका विभिन्न संरचनाबारे पनि जानकारी गराइएको छ। प्रहरीका तर्फबाट प्रहरी उपरीक्षक सुरेन्द्रबहादुर गुरुङ र सचिवालयका तर्फबाट सानुभाइ खड्का मर्यादापालकको प्रमुख रहनुभएको छ। उहाँहरूको पद उप–प्रमुख मर्यादापालक हो। यसअघि पनि प्रमुखमा गुरुङ र खड्का नै हुनुहुन्थ्यो।

कर्मचारी प्रशासन शाखाले गृह मन्त्रालयलाई एक साताअघि पत्र लेखेर बुधबारसम्म मर्यादापालकलाई उपस्थित गराइदिन अनुरोध गरेको थियो। गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद शर्मा दुवाडीले सरकारले आवश्यकता हेरी मर्यादापालकको व्यवस्था गर्ने बताउनुभयो। उहाँले सुरक्षालाई असर नपर्ने गरी संघ र प्रदेशमा मर्यादापालकको व्यवस्थापन गरिसकेको बताउनुभयो।