आसितेजको बैठकमा नेपालबाट राणा

0
Shares

बाल रंगमञ्चको अन्तर्राष्ट्रिय छाता संगठन आसितेज इन्टरनेसनलको एसिया बैठक सम्पन्न भएको छ। यसपटक जापानको टोकियोमा सम्पन्न नाट्य महोत्सवका साथ साना बालबालिकाका लागि रंगमञ्चको अवधारणा थिएटर फर यंग पिपलबारे विमर्श गरिएको थियो। आसितेज एसियाको सो बैठकमा नेपालका तर्फबाट आसितेज नेपालका संस्थापक तथा अध्यक्ष दीपर्शनजंग राणा सहभागी भएका थिए। बैठकमा उनले नेपालमा बाल रंगमञ्चसम्बन्धी भइरहेका गतिविधिबारे एसियाली जगतलाई जानकारी गराएको बताए।

नेपाली बाल रंगमञ्च शुरुआतकालीन समयमा रहेको जनाउँदै राणाले नेपाली रंगमञ्चमा बाल रंगमञ्चको चुनौती र अवसर उत्तिकै रहेको उल्लेख गरेका थिए। त्यसका लागि समृद्ध देशका आसितेज सेन्टरको निरन्तर सहयोग र परामर्श जरुरी रहेको भन्दै नेपालमा थिएटर फर यंग पिपलको अवधारणामा रंगकर्मी, सम्बन्धित निकाय र अभिभावको ध्यान जान थालेको उनले जनाएका थिए।

एसियाका १२ देश र अन्तर्राष्ट्रिय आमन्त्रित प्रतिनिधिको सहभागितामा सम्पन्न बैठकले एसियाली बालबालिका र बाल रंगमञ्चका समस्या र अवसरबारे विमर्श गरेको थियो। साथै पछिल्लो समय सिरियामा भइरहेको हिंसामा बालबालिका निशानामा परेकोमा दुःख व्यक्त गर्दै बैठकले भत्र्सनासमेत गरेको छ। बैठकबाट आसितेज इन्टरनेसनलको वार्षिक आर्टिस्टिक ग्यादरिङ यसपटक आगामी अगस्टमा एसियाकै चीनमा हुन लागेकाले तयारीमा जुट्न आह्वानसमेत गरिएको छ। बैठकमा आसितेजका अन्तर्राष्ट्रिय अध्यक्ष, इभिटे हार्डी, महासचिव लुइस भ्यालेन्ट तथा चीन, बंगलादेश, जापान, श्रीलंका, थाइल्यान्ड, हङकङ, इरान, इजरायल, कोरिया, न्युजिल्यान्ड, उज्वेकिस्तानलगायतका देशका प्रतिनिधि सहभागी थिए।