कांग्रेस संसदीय दलको नेता छनोटमा ध्रुवीकरण



रामकृष्ण चापागाईं, काठमाडौं
नेपाली कांग्रेस संसदीय दलको नेताको निर्वाचन २१ गते हुने भएको छ। सांसदहरूको शपथग्रहणपछि मात्र संसदीय दलको नेता छनोट गर्ने जनाएको कांग्रेसले २० गते मनोनयन दर्ताको समय तोकेको छ।

सांसदहरूको शपथग्रहण पनि २० गते नै हुँदै छ। सदनमा प्रमुख प्रतिपक्षी दलको भूमिकामा रहेको नेपाली कांग्रेसले संसदीय दल कार्यसमितिको निर्वाचन भने अझै पछि मात्र गर्ने भएको छ।

संसदीय दलको नेता तथा कार्यसमिति निर्वाचन प्रक्रिया अघि बढाउन गठन गरिएको निर्वाचन समितिको मंगलबार बसेको बैठकले निर्वाचनको मिति तय गरेको हो। हालै सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले संसदीय दलको नेता तथा कार्यसमितिको निर्वाचनका लागि चीनकाजी श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति बनाएको थियो।

जसमा भीष्मराज आङदम्बे र नवीन्द्रराज जोशी सदस्य छन्। निर्वाचन समितिका संयोजक श्रेष्ठले नेपाल समाचारपत्रलाई जानकारी दिएअनुसार पहिला संसदीय दलको नेता मात्रको निर्वाचन हुनेछ। कार्यसमितिको निर्वाचन भने पछि गरिने उहाँले जानकारी दिनुभएको छ।

नेपाली कांग्रेसको उम्मेदवारका रूपमा निर्वाचित भई आएका प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनका सदस्य संसदीय दलको सदस्य रहने भए पनि संसदीय दलको नेता छनोट भने प्रतिनिधिसभाका सदस्यहरूबाट मात्र हुनेछ। प्रतिनिधिसभामा कांग्रेसको ६३ सदस्य छन्। राष्ट्रिय सभामा भने संसदीय दलको नेताले एकजना संसदीय दलको नेतामा मनोनित गर्नेछन्।

कांग्रेस प्रमुख प्रतिपक्षको भूमिकामा रहेको र संसदीय दलको नेताको पद महत्त्वपूर्ण हुने भएकाले दलको नेताका लागि सभापति शेरबहादुर देउवा स्वयं अगाडि बढ्नुभएको छ। हालै सम्पन्न स्थानीय, प्रादेशीक र संघीय तीन तहको निर्वाचनमा कांग्रेसले नराम्ररी पराजित भोगेपछि सभापति देउवालाई संसदीय दलको नेता छोड्न पार्टीभित्र चर्को दबाब बढिरहेको छ। तर, देउवाले संसदीय दलको नेता छोड्ने सम्भावना नभएको देउवा निकट नेताहरूले बताएका छन्।

संघीय संसद्मा सभापति देउवा निकटका सदस्य धेरै छन्। कांग्रेसभित्र वरिष्ठ नेता रामचन्द्र पौडेल र अर्का नेता कृष्णप्रसाद सिटौलाको गुट रहे पनि सिटौला गुटले सभापति देउवालाई नै संसदीय दलको नेतामा सहयोग गर्ने सिटौला निकट नेता भीमसेनदास प्रधानले जानकारी दिनुभएको छ। सर्वसम्मतरूपमा संसदीय दलको नेता हुने तयारी गरिरहनुभएको सभापति देउवालाई चुनौती दिँदै प्रकाशमान सिंहले पनि संसदीय दलको नेतामा दाबी गरिरहनुभएको छ।

कांग्रेसभित्र संसदीय दलको नेता निर्वाचित हुनका लागि संसदीय दलका सम्पूर्ण सदस्य संख्याको पचास प्रतिशतभन्दा बढी सदस्यको मत प्राप्त गर्नुपर्नेछ। पचास प्रतिशतभन्दा बढी मत कसैले प्राप्त नगरेमा सबैभन्दा धेरै मत प्राप्त गर्ने दुई जनाका बीच पुन निर्वाचन गरिनेछ। संसदीय दलको विधानमा दलको नेताले नै प्रतिनिधिसभाका सदस्यमध्यबाट एक जना उपनेता मनोनित र सचेतक मनोनियन गर्ने व्यवस्था छ। मुख्य सचेतकको सिफारिसमा संसदीय दलको नेताले प्रतिनिधिसभा र राष्ट्रिय सभामा सचेतक मनोनित गर्नेछन्।

संसदीय दलको कार्यसमितिमा संसदीय दलमा रहेका सम्बन्धित प्रदेशका सम्पूर्ण सदस्यबाट मतदान भई प्रत्यक प्रदेशबाट एक⁄एक जना गरी निर्वाचित ७ जना सदस्य हुन्छन् भने कम्तीमा ५ जना महिला रहने गरी दुई खस आर्य, दुई आदिवासी जनजाति, दुई मधेसी, दुई दलित, एक थारू, एक मुस्लिम, एक पीछडिएको क्षेत्रको सदस्य हुने गरी जम्मा ११ जना हुन्छन्।

प्रतिक्रिया दिनुहोस्