सरकार विस्तारमा उतार चढाव कायमै



काठमाडौं, (नेस)
सरकारले पूर्णता पाउन अझै एक साता लाग्ने भएको छ। नेकपा एमाले र माओवादी केन्द्रभित्र मन्त्री बन्नका लागि हानाथाप र संघीय समाजवादी फोरम नेपाललाई पनि सरकारमा सहभागी गराउने भएपछि सरकार विस्तारको कार्य लम्बिएको हो।

प्रधानमन्त्री केपी ओलीले अबको एकसाताभित्र मन्त्रिमण्डललाई पूर्णता दिने गरी गृहकार्य अगाडि बढाउनुभएको छ। एमाले र माओवादीबीच मन्त्रालय भागवण्डामा सहमति भए पनि फोरम सहभागी हुने भएपछि एक⁄एक मन्त्रालय छोड्नुपर्ने भएकाले प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच अनौपचारिक छलफल भइरहेको छ।

प्रधानमन्त्री ओलीको प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले अबको एक साताभित्र मन्त्रिमण्डलले पूर्णता पाउने बताउनुभयो। उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘छिट्टै मन्त्रिमण्डल विस्तार गर्ने तयारीमा प्रधानमन्त्री हुनुहुन्छ, प्रचण्डसँग पनि सरकार विस्तारको बारेमा कुराकानी भइरहेको छ।’ सोमबार नै सरकारले पूर्णता पाउने बताइए पनि अन्तिम समयमा आएर चार मन्त्रीले मात्र शपथ लिएका थिए।

प्रधानमन्त्री ओलीले फोरमलाई पनि सरकारमा सहभागी गराउन सकारात्मक भएपछि सरकार विस्तारको कार्यमा ढिलाइ भएको हो। संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधनमा लिखित सहमति जनाएपछि मात्र सरकारमा सहभागी हुने अडानका कारण छलफल लम्बिएको हो।

फोरमलाई सरकारमा सहभागी गराउनेबारेमा सहमति कायम गर्ने जिम्मेवारी एमाले नेता सुवासचन्द्र नेम्वाङले पाउनुभएको छ। नेम्वाङ र फोरम नेपालका अध्यक्ष यादवबीच छलफल भए पनि सहमति जुट्न सकेको छैन। एमालेका नेता नेम्वाङले नेपाल समाचारपसँग भन्नुभयो– ‘फोरमसँग छलफल भइरहेको छ, छिट्टै सहमति हुन्छ।’

फोरमलाई सरकारमा सहभागी भएको अवस्थामा दुई वटा मन्त्रालय दिने तयारी एमाले र माओवादी केन्द्रको छ। संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारमा जाने विषयमा अझै टुंगो नलागेको बताउनुभयो।

सहमति नजिक पुग्नुभएको हो भन्ने समाचारपत्रको जिज्ञासामा यादवले भन्नुभयो– ‘सामान्य कुराकानी भएको हो, कुनै सहमति नजिक पुगिएको छैन।’ सरकारमा सहभागी हुने⁄नहुने बारेमा उहाँले केही खुलाउन चाहनुभएन। उहाँले संविधान संशोधन गर्ने लिखित प्रतिबद्धता भएको अवस्थामा मात्र सरकारमा जान सकिने बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्