बुद्ध नेपालमा जन्मेको सन्देश टुँडिखेलबाट



काठमाडौं, (नेस)
विश्व कीर्तिमानी परिषद् नेपालले ‘बुद्ध नेपालमा जन्मेका हुन्’ भन्ने सन्देश दिन यही फागुन १९ गते टुँडिखेलमा धम्मपद (बुद्ध बचन) वाचन गर्ने भएको छ।

मुलुकको गौरवलाई अन्तर्राष्ट्रिय तहमा फैलाउन आयोजना गर्न लागिएको उक्त कार्यक्रममा सर्वसाधारणलाई सहभागी हुन आग्रह गरिएको छ।

सो कार्यक्रममा वरिष्ठ चिकित्सक डा. भोला रिजालले विश्वमा शान्ति र अहिंसाको सन्देश फैलाएका बुद्ध नेपालमा जन्मेको भन्नेबारे कुनै पनि भ्रम नरहेको बताउँदै यसले सुनियोजितरूपमा गलत सन्देश प्रवाह गरिएको यथार्थलाई प्रस्ट पार्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।

पूर्वउपप्रधानमन्त्री वामदेव गौतम र पूर्वमन्त्री आनन्दप्रसाद पोखरेलले बुद्धको विचारले अन्तर्राष्ट्रिय तहमा एक अर्बभन्दा बढी मानिसलाई आकर्षित गरिरहेको अवस्थामा उनको नामबाट राष्ट्रलाई चिनाउने कार्य महत्त्वपूर्ण भएको बताउनुभयो।

सीमाविद् बुद्धिनारायण श्रेष्ठले हरेक वर्ष जनस्तरबाट बुद्धलाई स्मरण गर्ने कार्य गर्नुपर्नेमा जोड दिनुभयो। कार्यक्रमका लागि सद्भाव दूत पत्रकार रवि लामिछाने आफूले गिनिज बुकमा नाम लेखाउँदा पनि सोही शीर्षकलाई उठाएको उल्लेख गर्नुभयो। कार्यक्रमका उपाध्यक्ष संघर्ष विष्टले बुद्ध दर्शनको उद्गमस्थल नेपाल भएको भए पनि गलत प्रचार गरिएका कारण विदेशमा फैलाइएको भ्रमको अन्त्य गर्न सो कार्यक्रम गर्न लागिएको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्