बौद्ध ध्यान केन्द्र बनाउन सहयोग गरिने

0
Shares

नेपाल समाचारपत्र
ललितपुर
मंगलमार्ग अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्रको भवन बनाउनका लागि विभिन्न क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता गरिएको छ। ललितपुरको नख्खुस्थित ध्यान केन्द्रको भवन निर्माणस्थलमा मंगलबार आयोजित धर्मदेशना र दाता सम्मान समारोहमा कुटनीतिक, स्थानीय तह, निजीलगायत विविध क्षेत्रका प्रतिनिधिले यस्तो प्रतिबद्धता जनाएका हुन्।

म्यानमारका ध्यान गुरु कर्मस्थाचार्य भिक्षु प्रज्ञाश्री नेपाल आउनुभएको अवसर पारेर सो कार्यक्रम तय गरिएको हो। ध्यान केन्द्रको कार्यसमिति र जग्गादाता दशलाल डंगोलद्वारा संयुक्तरूपमा उक्त कार्यक्रम आयोजना गरिएको थियो।

स्थानीय पूर्णचण्डी निवासी दाता दशलाल डंगोल र उहाँकी श्रीमती राममाया महर्जनले आफ्ना छोरा राम, रामकृष्ण र रत्न महर्जनलगायत परिवारका सबै सदस्यको सम्मतिमा ध्यान केन्द्र बनाउन १ रोपनी १ आना जग्गा एक वर्षअघि दान दिनुभएको थियो। सो जग्गामा ध्यान केन्द्र बनाउन तत्कालीन बर्माका राजदूतले शिलान्याससमेत गरिसक्नुभएको छ। यस पृष्ठभूमिमा भिक्षु प्रज्ञाश्रीबाट अहिलेसम्म विहार निर्माणमा सहयोग पुर्याउनुभएका दाताहरूलाई कदरपत्र प्रदान गर्नुभयो।

सो समारोहमा कर्मस्थाचार्य भिक्षु प्रज्ञाश्रीले बुद्ध जन्मभूमि नेपालमा बहुजन हित र बहुजन सुखको उद्देश्यले आध्यात्मिक ज्ञान फैलाउन ध्यान केन्द्र निर्माण हुनु सबैको लागि सुख र गौरवको विषय रहेको बताउनुभयो।

उहाँले बुद्धको ज्ञान र ध्यान निश्चित वर्ग, समुदाय वा धर्मावलम्वीहरूका लागि मात्र नभई मानसिक दुःखबाट मुक्त हुन चाहने सबैका लागि रहेको विचार व्यक्त गर्नुभयो।

तथागत गौतम बुद्धले धर्मलाई कर्मकाण्डको विषयभन्दा व्यावहारिक जीवनमा अभ्यास गर्नुपर्ने बताएको धारणा राख्दै भिक्षु प्रज्ञाश्रीले जीवनको दुःखलाई बुझेर दुःखबाट मुक्त हुने मार्गका लागि साधना गर्नुपर्ने बताउनुभयो।

ललितपुर महानगरपालिकाको कार्यवाहक प्रमुखसमेत रहनुभएकी उपप्रमुख गीता सत्यालले निर्माण हुन लागेको ध्यान केन्द्रका लागि महानगरपालिकाले सक्दो सहयोग गर्ने वचन दिनुभयो।

नेपालका लागि म्यानमारका राजदूतावासका उपप्रमुख यननयिङले दुई देशका जनताबीचको सम्बन्धलाई बुद्ध धर्मले निकै जोडेको चर्चा गर्दै ध्यान केन्द्रको भवन निर्माणका लागि सहयोग गर्ने बताउनुभयो।केन्द्रका अध्यक्ष पुष्परत्न शाक्यले आध्यात्मिक शान्ति, जीवनमा सकारात्मक ऊर्जा र सोचको विकासमा ध्यानको महत्त्व रहेको उल्लेख गर्नुभयो। ध्यानको अभ्यास, ज्ञानको चर्चा र देशविदेशबाट आउने बौद्ध भिक्षुहरूको वासका लागि ध्यान केन्द्र बनाउन लागिएको जानकारी दिनुभयो।

समारोहमा केन्द्रको उपाध्यक्षद्वय रामकाजी अवाल र उपाध्यक्ष अजरमान जोशीले ध्यान केन्द्र बनाउने कार्यलाई छिटो साकार पार्नुपर्ने बताउनुभयो।यसअघि भिक्षु तिस्स स्थविरबाट शील प्रार्थना गराई सो कार्यक्रम शुरू गरिएको थियो। कार्यक्रममा प्राप्त सहयोग र सहयोगको प्रतिबद्धताले ध्यान केन्द्र बनाउन कार्यसमितिमा उत्साह थपिएको कोषाध्यक्ष रामकृष्ण महर्जनले बताउनुभयो।

जग्गा दाता डंगोलले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘भिक्षु प्रज्ञाश्रीको प्रवचन सुनेर जग्गा दान दिने निर्णय गरेको हुँ।’