युवराजद्वारा पूजा, पूर्वराजा ज्ञानेन्द्र पूर्व जाने

0
Shares

नेपाल समाचारपत्र
काठमाडौं
रात वर्षअघि थाइल्यान्डबाट भाकल गरेका पूर्वयुवराज पारसले मंगलबार टेकुस्थित पचलीभैरवमा पूजा गर्नुभएको छ।

थाइल्यान्डमा करिब ११ दिन अचेत रहेका उहाँले आफू सन्चो हुनासाथ पूजा गर्ने जनाएपछि सोही भाकल पूरा गर्न पूजा गरेको विश्व हिन्दु युवा संघका अध्यक्ष राजन महर्जनले जानकारी दिनुभयो। करिब आधा घण्टा पूजा गरेका पारसलाई स्वागत गर्न आफन्तहरूको घुइँचो लागेको थियो।

उता देशव्यापी भ्रमणमा लाग्नुभएका पूर्वराजा ज्ञानेन्द्र शाह यही फगुन २० गते झापा जाने हुनुभएको छ। झापाको दमकमा आफ्नै स्वामित्वमा रहेको हिमालयन टी स्टेट गार्डेनमा करिब ३ साता बस्ने गरी झापा जान लाग्नुभएको उहाँको निजी सचिवालयले जनाएको छ। उहाँसँगै पूर्वरानी कोमलसमेत झापा जाने कार्यक्रम तय भएको छ।

उहाँको सुरक्षाका लागि सशस्त्र प्रहरी वलको ३ दर्जन सुरक्षाकर्मीसहितको ७ वटा कन्भे सवारी आज बुधबार झापाको दमक जाने भएका छन्। सो टोलीले पूर्वराजा भ्रमण गर्ने पूर्वका विभिन्न जिल्लाको सुरक्षा अवस्थाको बारेमा रेकी गर्नेछ। पूर्वका अधिकांश जिल्लाका भ्रमण गर्ने तयारीका साथ पूर्वराजा झापा जान लाग्नुभएको हो। उहाँले केही मठमन्दिर भ्रमण गरी राजावादीलाई एकीकृत गर्ने कार्यक्रमसमेत रहेको स्रोतको दाबी छ। उहासँगै निजी सचिव सागर तिमल्सिना पनि जानुहुने बताइएको छ। पूर्वको भ्रमणको केही दिनपछि उहाँ पश्चिम जाने कार्यक्रम रहेको स्रोतको भनाइ छ। उहाँलाई भैरहवाका राजावादीले भेट गर्ने आकांक्षा जनाएपछि पश्चिमको भ्रमणको तयारी गरिरहनुभएको छ।

अंग्रेजी नयाँ वर्षको पूर्व सन्ध्यामा मध्यपश्चिमको नेपालगन्जस्थित होटल सोल्टी उद्घाटन गर्न पुग्नुभएका ज्ञानेन्द्रले पुस १७ गते होटल उद्घाटन गरेसँगै सुदूरपश्चिमको समेत भ्रमण गर्नुभएको थियो। मध्यपश्चिमको भ्रमणको बेला उहाँले डोल्पा, हुम्ला र जुम्लाका राजावादीले भेट गरेका थिए।

नेपालगन्जबाटै उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको निमन्त्रणमा परिवारसहित उत्तर प्रदेशको राजधानी लखनउ भ्रमण गर्नुभएको थियो।

राजतन्त्र र हिन्दुराज्यको समर्थक मुख्यमन्त्री आदित्यनाथसँग भएको भेटमा नेपालमा हिन्दुधर्म र राजतन्त्र ल्याउने विषयमा कुराकानी भएको थियो। मध्यपश्चिम र भारतको भ्रमण सकेलगत्तै काठमाडौं फर्कनुभएका पूर्वराजा ज्ञानेन्द्र माघ २२ गते भारतको उडिसा जानुभएको थियो। उडिसा राज्यको गोवद्र्धनम पुरी पिठका १ सय ४५औं जगद्गुरु शंकराचार्यको पट्टा भिषेक समारोहमा सहभागी भएर नेपाल फर्कनुभएका उहाँ केही दिनको बसाइँपछि पूर्वाञ्चल भमणमा निस्कन लाग्नुभएको हो।